काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सत्ता साझेदारी नपाएपछि एमालेमाथि आक्रमण गर्न थालेको आरोप लगाएका छन्।
आइतबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय विभागहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै पोखरेलले नेपाली कांग्रेससँगको गठबन्धन सरकारले रास्वपालाई समेट्न नसकेपछि त्यसको आक्रोश एमालेमाथि खन्याइएको बताएका हुन्।
उनले भने, “रास्वपा अहिले जुन भाषामा बोल्दैछ, त्यो सरकारमा नपाएको पीडाको अभिव्यक्ति हो। सरकारले समावेश नगरेपछि अहिले एमालेप्रति नै विष वमन गरिरहेको छ।”
पोखरेलले रास्वपालाई अघिल्लो सरकारले परीक्षणको अवसर दिएको स्मरण गर्दै त्यो बेला एमाले अध्यक्ष केपी शर्मा ओली नै रास्वपाका नेताहरूको राजनीतिक केन्द्र रहेको दाबी गरे। “त्यो समयमा त उनीहरूको उठबस, भेटघाट सबै ओली निवासमै केन्द्रित थियो,” पोखरेलले सुनाए।
उनले सामाजिक सञ्जालमार्फत निराशा र भ्रम फैलाएर वैकल्पिक शक्ति बन्ने कोशिस भइरहेको पनि उल्लेख गरे। “मुख्य राजनीतिक धारका दलहरूलाई विस्थापन गर्ने सपना देख्नेहरू जनतालाई सामाजिक सञ्जालको खेतीमार्फत भावनात्मक रूपमा उत्तेजित बनाउन खोज्दैछन्,” पोखरेलको टिप्पणी थियो।
रास्वपा अध्यक्ष रवि लामिछानेविरुद्ध हालैको अदालतको फैसला प्रसङ्ग उल्लेख गर्दै उनले कानुनी प्रक्रिया अनुरूप फैसलाविरुद्ध माथिल्लो अदालतमा पुनरावलोकनमा जानु कुनै अपराध नभएको स्पष्ट पारे।
पोखरेलले वैकल्पिक राजनीति गर्नेहरूलाई पनि छिटो परीक्षणको मौका दिनु पर्ने भन्दै एमालेले पहिले नै जिम्मेवारी दिएर अवसर दिएको तर अहिले ती नेताहरूबाट आधारहीन आरोप आइरहेको गुनासो गरे।
प्रकाशित मिति: २९ असार २०८२, आइतबार












प्रतिक्रिया