काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको आगामी विधान महाधिवेशनमा ७० वर्षे उमेर सिमाकाे व्यवस्था हटाउने प्रस्ताव लैजाने घोषणा गरेका छन्।

आइतबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय विभागहरूको संयुक्त भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले उमेर सिमा सम्बन्धी प्रस्ताव केन्द्रीय कमिटीले पहिल्यै स्थगित गरिसकेको स्मरण गराउँदै उक्त निर्णयलाई अब विधान महाधिवेशनबाट अनुमोदन गराउनु पार्टी नेतृत्वको जिम्मेवारी भएको स्पष्ट पारे।

advertisement

उनले पार्टी विधानका केही प्रावधानबारे भ्रम सिर्जना गर्ने प्रयास भइरहेकाे उल्लेख गर्दै यस्ता विषयमा स्पष्ट दृष्टिकोणसहित अगाडि बढ्ने बताए।

विधान संशोधनको प्रसंगमा उनले २०७८ सालको मंसिर १० गते सौराहामा बसेको केन्द्रीय कमिटी बैठकमा तत्कालीन उपमहासचिव विष्णु पौडेलद्वारा प्रस्ताव गरिएको संशोधन योजनालाई स्मरण गरे। गोदावरीमा सम्पन्न पहिलो विधान महाधिवेशनले केन्द्रीय समिति सदस्य संख्या २२५ र पदाधिकारी संख्या १५ तोकेको भए पनि त्यसबेला उत्पन्न राजनीतिक परिस्थिति व्यवस्थापन गर्न ३०१ सदस्यीय केन्द्रीय समिति र १९ जना पदाधिकारी बनाइएको उनले बताए।

पछिल्लो संशोधन अनुसार केन्द्रीय निकायको संख्या २५ जनामा पुर्‍याइएको समेत उनले जानकारी दिए।

महासचिव पोखरेलले पार्टीको अध्यक्षमा दुई कार्यकाल मात्रै उम्मेदवार बन्न पाउने प्रावधानसमेत परिवर्तन गरिएको उल्लेख गरे। ‘हामी जसको नेतृत्वमा पार्टी अगाडि बढाउन चाहन्थ्यौं, उहाँ नवौं महाधिवेशनमा अध्यक्ष बन्नुभयो, तर आठौं महाधिवेशनमा पनि उम्मेदवार हुनुभएको थियो। त्यसैले दुई कार्यकाल अथवा दुई पटक उम्मेदवार बन्ने प्रावधान बदलिएको हो,’ पोखरेलले स्पष्ट पारे।

त्यही प्रावधानअनुसार पुष्प कँडेललाई लेखा आयोगको अध्यक्षमा तेस्रोपटक चयन गरिएको उनले बताए। महासचिव पोखरेलका अनुसार पार्टीलाई लचिलो र व्यावहारिक बनाउँदै अघि बढ्न अबको विधान महाधिवेशन निर्णायक हुने छ।

प्रकाशित मिति: २९ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com