काठमाडौं । वर्षायाममा गाईभैँसीमा फैलिने छालाको सङ्क्रमण ‘लम्पी स्किन’ पाँच प्रदेशमा फैलिएको छ ।
दुई वर्षअघि पशुधनमा अर्बौंको क्षति पुर्याएको यो रोग कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा फेरि फैलिएको छ । दुई वर्षअघि महामारीकै रूप धारण गरेको ‘लम्पी स्किन’ अघिल्लो वर्ष भने कम थियो । यस वर्ष कोशी प्रदेशको झापामा देखिएको सो सङ्क्रमण सो प्रदेशका सबै जिल्लामा पुगेको छ ।
दुई वर्षअघिको ‘लम्पी स्किन’ को सङ्क्रमणपछि जन्मिएका गाईका बाच्छाबाच्छीमा यो समस्या धेरै देखिएको कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी डा. देवकुमार दर्लामीले जानकारी दिए । ‘लम्पी स्किन’ देखिनेबित्तिकै हुन सक्ने जोखिमलाई ध्यानमा राखेर सङ्घीय सरकारलाई जानकारी गराएको र स्थानीय तहसँग समन्वय गरेको दर्लामीको भनाइ छ ।
एक वर्षअघि ‘लम्पी स्किन’ विरुद्धको खोप लगाउन किसान र सरकारी संयन्त्रले ध्यान नदिँदा यस वर्ष धेरै फैलिएको उनले बताए । सङ्क्रमण देखिएपछि पशुको ओसारपसारमा निगरानी राखेको र सरसफाइमा ध्यान दिन र खोप लगाउने कार्यमा प्रोत्साहन गर्न मन्त्रालयले काम गरिरहेको सरकारी निकायको भनाइ छ ।
कोशीमा झापा, इलाम, मोरङ र सुनसरीमा अरू जिल्लाभन्दा धेरै सङ्क्रमित रहेको र अरू जिल्लामा कम रहेको बताइएको छ । त्यसबाहेक बागमती प्रदेशको चितवन र धादिङ, मधेशको बारा, कर्णालीको रुकुमपश्चिममा सङ्क्रमण देखिएको छ ।
प्रकाशित मिति: ३० असार २०८२, सोमबार












प्रतिक्रिया