काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएका छन्। केही दिनअघि सार्वजनिक भएको घुससम्बन्धी अडियो प्रकरणका कारण विवादमा परेका मन्त्री गुप्तालाई प्रधानमन्त्री ओली झापाबाट फर्किएलगत्तै बालुवाटारमा बोलाइएको हो।

छ महिनाअघि पुस महिनामा भएको भनिएको घुस लेनदेनको अडियो हालै मात्र सार्वजनिक भएपछि गुप्ता विवादको केन्द्रमा आएका हुन्। सो अडियो सार्वजनिक भएपछि यो विषय संघीय संसद्मै प्रवेश गरिसकेको छ।

advertisement

प्रधानमन्त्री ओलीले गुप्ताको संलग्नताबारे स्पष्ट जानकारी लिँदै छानबिनका लागि आवश्यक निर्णय लिने तयारी गरिरहेको स्रोतको भनाइ छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार, यदि गुप्ताको स्पष्टीकरण सन्तोषजनक नभएमा उनलाई राजीनामा दिन आग्रह गरिनेछ, नत्र बर्खास्त गरिने सम्भावना छ।

यसैबीच, मन्त्री गुप्ताले आफू अनुसन्धानका लागि तयार रहेको बताउँदै पार्टीले निर्देशन दिएमा छानबिनका लागि मार्ग खुला गर्ने बताएका छन्। उनका अनुसार, आफूमाथि लागेको आरोपको पुष्टि हुने प्रमाण छैन, तर अडियो परीक्षणका लागि पनि आफू तयार रहेको उनको भनाइ छ।

यस घुस प्रकरणसँग सम्बन्धित अडियो, घुस रकमको उल्लेख भएको डायरी र त्यसमा लेखिएका नम्बरसहितका प्रमाण अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाइएको छ। आयोगमा उजुरी दर्ता गरिएपछि मात्रै अडियो सार्वजनिक भएको जनाइएको छ।

 

प्रकाशित मिति: ३० असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com