काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालय र शिक्षा प्रणालीसम्बन्धी विभिन्न माग राख्दै सडक प्रदर्शन गरेको छ। विद्यार्थी प्रतिनिधित्वविनै विश्वविद्यालयको सिनेट बैठक बसेको र शिक्षा ऐनमा ढिलाइ भइरहेको भन्दै संघले बल्खुस्थित खुला सडकबाट जुलुससहितको प्रदर्शन सुरु गरेर त्रिवि प्रांगणमा पुगेर टुंग्याएको हो।
नेविसंघ त्रिवि समितिका सभापति विष्णु बडैलाले विद्यार्थी प्रतिनिधित्व नबिना गरिएको सिनेट बैठकलाई स्वीकार गर्न नसकिने बताए। ‘विद्यार्थीको सहभागिता नभई गरिएको निर्णयलाई हामी मान्दैनौं,’ उनले भने।
साथै, विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग राख्दै उनले शिक्षा क्षेत्रमा देखिएको अन्योल अन्त्य गर्न सरकारले चाँडो पहल गर्नुपर्ने धारणा राखे।
उनले प्रस्तावित विद्यालय शिक्षा विधेयकमा शिक्षक नियुक्ति प्रक्रिया पूर्ण रूपमा खुला प्रतिस्पर्धात्मक हुनुपर्ने माग पनि दोहोर्याए। ‘शिक्षकको नियुक्तिमा कुनै भागबण्डा वा सिफारिस होइन, योग्यता र प्रतिस्पर्धामार्फत छनोट हुनुपर्छ,’ सभापति बडैलाले जोड दिए।
प्रदर्शनका क्रममा नेविसंघले शिक्षा क्षेत्रको सुधार र पारदर्शिताका लागि दबाब दिन आफूपछि पनि चरणबद्ध आन्दोलन जारी राख्ने चेतावनी दिएको छ।
प्रकाशित मिति: ३० असार २०८२, सोमबार












प्रतिक्रिया