काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई घुस प्रकरणमा मुछिएको आरोपपछि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओली झापाबाट फर्किएलगत्तै गुप्तालाई सोमबार बिहान बालुवाटार बोलाइएको हो।
छ महिनाअघिको एक घुस प्रकरणको अडियो हालै सार्वजनिक भएपछि गुप्ता विवादमा तानिएका छन्। पुस महिनामा भएको भनिएको उक्त घटनाको अडियो केही दिनअघि मात्रै सार्वजनिक भएको हो। सो प्रकरण अहिले संघीय संसदमा समेत प्रवेश गरिसकेको छ।
प्रधानमन्त्री ओलीले गुप्ताविरुद्ध कडा कदम चाल्ने तयारी गरेको स्रोतले जनाएको छ। बालुवाटारमा भएको भेटवार्तामा सोही विषयमा प्रधानमन्त्रीले मन्त्रीसँग स्पष्टीकरण मागेको बताइएको छ।
मन्त्री गुप्ताले भने पार्टीले निर्देशन दिएमा छानबिनका लागि आफू तयार रहेको प्रतिक्रिया दिएका छन्। “पार्टीले छानबिन गर्छ भने म तयार छु,” उनले भनेका छन्।
यसबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा घुससम्बन्धी अडियोसहित उजुरी दर्ता भइसकेको छ। उजुरीसँगै घुसको नोटमा देखिएको नम्बर, सम्बन्धित व्यक्तिको डायरीलगायत प्रमाण आयोगमा बुझाइएको छ। उजुरी परेको केही दिनपछि मात्रै अडियो सार्वजनिक गरिएको हो।
सरकारभित्रैका मन्त्री घुस प्रकरणमा मुछिँदा सार्वजनिक चासो बढेको छ भने प्रधानमन्त्रीको आगामी निर्णय प्रतीक्षा गरिएको छ
प्रकाशित मिति: ३० असार २०८२, सोमबार












प्रतिक्रिया