काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले शैक्षिक मागहरू राख्दै गरिएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीद्वारा विद्यार्थी नेताहरूको गिरफ्तारी भएकोप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ।
नेपाल कमर्श क्याम्पस परिसरमा आयोजित प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरी नेविसंघका दर्जनौँ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो। घटनाप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै नेविसंघले विज्ञप्ति जारी गरी पक्राउ परेकाहरूलाई अविलम्ब रिहा गर्न सरकारसँग माग गरेको छ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “शैक्षिक अधिकार, विद्यार्थीको प्रतिनिधित्व, र खुला प्रतिस्पर्धामार्फत शिक्षक नियुक्तिको माग गर्दै गरिएको शान्तिपूर्ण विरोध कार्यक्रममा प्रहरीले ज्यादती गर्दै विद्यार्थीहरूलाई गिरफ्तार गर्नु अत्यन्तै निन्दनीय छ।”
पक्राउ पर्नेहरूमध्ये नेविसंघ केन्द्रीय सदस्य तथा कमर्श क्याम्पस इकाइ अध्यक्ष सरोज तिमिल्सिना, त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका पूर्वस्ववियु सभापति श्यामराज ओझा, काठमाडौं जिल्ला अध्यक्ष अनसुल केसी, उपाध्यक्ष तथा स्ववियु कोषाध्यक्ष सुशील खड्का, इन्जिनियरिङ कलेज इकाइ कार्यवाहक अध्यक्ष पृथ्वीजंग थापा, चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संघ अध्यक्ष महेन्द्र खड्का, र नेताहरू उत्सव देवकोटा, रन्चिर विष्ट, एलेक्स सिंघानिया लगायतको उपस्थिति रहेको उल्लेख गरिएको छ।
नेविसंघले विद्यार्थीकै हकहितका लागि उठाइएका जायज मागमा राज्यले बल प्रयोग गर्नु लोकतान्त्रिक मूल्यविपरीत भएको भन्दै आन्दोलन जारी राख्ने चेतावनी दिएको छ। विज्ञप्तिमा भनिएको छ, “विद्यार्थी आवाज दबाउने प्रयास बन्द गर, गिरफ्तार सबैलाई बिना सर्त तुरुन्त रिहा गर।”

प्रकाशित मिति: ३० असार २०८२, सोमबार













प्रतिक्रिया