काठमाडौं । भिजिट भिसा प्रकरणमा प्रभावकारी छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले बुधबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।
बैठक सुरु भएलगत्तै सभामुख देवराज घिमिरेले कार्यसूची सुनाउने क्रममा दुवै दलका सांसदहरूले उभिएर आपत्ति जनाए। सभामुखले बोल्न अनुमति दिएपछि रास्वपाका सांसद अशोक चौधरीले भिजिट भिसाको नाममा भएका अनियमितता छानबिनका लागि संसदीय विशेष समिति वा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन नहुँदासम्म सदनको बैठकमा सहभागी नहुने स्पष्ट पारे।
त्यसपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि पार्टीको तर्फबाट धारणा राख्दै यसअघि पटक–पटक उठाइएको मागमाथि कुनै पहल नभएकाले विरोध जारी राख्नुपर्ने अवस्था आएको बताए।
दुवै दलका सांसदहरूले धारणा राखिसकेपछि एकैपटक बैठक कक्षबाट बाहिरिएर सदन बहिष्कार गरेका हुन्।
रास्वपा र राप्रपाले भिजिट भिसाको दुरुपयोग, गैरकानुनी प्रवेश र भ्रमणसँग सम्बन्धित शंकास्पद गतिविधिबारे निष्पक्ष छानबिनको माग गर्दै केही समयदेखि लगातार सदनमा दबाब दिँदै आएका छन्।
प्रकाशित मिति: ३० असार २०८२, सोमबार












प्रतिक्रिया