काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफूलाई लक्षित गरी सार्वजनिक गरिएको घुससम्बन्धी अडियो नक्कली भएको दाबी गर्दै प्रमाणित भए नागरिकता नै त्याग्ने घोषणा गरेका छन्।

एक टेलिभिजन अन्तर्वार्तामा तीव्र आक्रोशसहित प्रस्तुत भएका मन्त्री गुप्ताले अडियो आफ्नो नभएको स्पष्ट गर्दै, त्यो राजनीतिक रूपमा बदनाम गराउने नियोजित षड्यन्त्र मात्र भएको बताए। उनले भने, “यदि त्यो अडियो मेरो हो भनेर प्रमाणित भयो भने म न केवल राजनीतिबाट टाढा हुन्छु, नागरिकता नै त्यागेर देशै छोड्छु।”

advertisement

कर्मचारी सरुवा रोक्ने र भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिका लागि लाखौं रुपैयाँको लेनदेन गरिएको भन्दै सार्वजनिक भएको करिब १० मिनेट लामो अडियोका कारण गुप्ता विवादमा तानिएका हुन्। अडियोमा उनी एक महिलासँग तथा एक पुरुषसँग आर्थिक कारोबारबारे कुरा गरिरहेको सुनिन्छ। यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परिसकेको छ।

गुप्तामाथि दुई ठूला आरोप छन्—पहिलो, मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख घुस लिएको, दोस्रो, एमालेका गण्डकी प्रदेश सदस्य खेमबहादुर पुनलाई भूमि आयोगको अध्यक्ष बनाउन २५ लाख घुस मागेको। अडियोसँगै दुई झोलामा राखिएको भनिएको घुस रकम र नोटका गड्डीको तस्बिरसमेत उजुरीमा समावेश छ।

अडियोमा गुप्ताले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको नामसमेत उल्लेख गर्दै ‘भन्दिनु त बलरामलाई’ भन्ने संवाद राखेका छन्। मन्त्री अधिकारीले भने आफू पूर्णरूपमा निर्दोष रहेको र अडियोमा मुछिएको कुरा निराधार भएको बताएका छन्।

मन्त्री गुप्ताले भने, “म निर्दोष छु। न एक कप चिया खाएको छु, न कसैबाट पैसा लिएको छु। टुँडिखेलमै झुन्डिन तयार छु तर मैले गल्ती गरेको छैन।” उनले प्राविधिक छलका माध्यमबाट अडियो बनाइएको हुनसक्ने दाबी गरे।

प्रकरण सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले गम्भीर चासो देखाएको छ। प्रधानमन्त्री ओलीले गुप्तासँग भेट गरेर विस्तृत जानकारी लिने र आवश्यक निर्णय लिने तयारीमा रहेको स्रोतको भनाइ छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरीका आधारमा प्रारम्भिक छानबिन सुरु गरिसकेको जनाएको छ। गुप्ताले भने, “सरकारलाई बदनाम गराउने सुनियोजित प्रपञ्च हो। म अख्तियारको छानबिनमा पूर्णरूपमा सहयोग गर्न तयार छु।”

प्रकाशित मिति: ३० असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com