काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद तथा पूर्वअध्यक्ष राजेन्द्र लिङ्देनले सरकारका मन्त्रीहरू एकपछि अर्को काण्डमा मुछिँदा समेत सरकार मुकदर्शक बनेको भन्दै कडा आलोचना गरेका छन्।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद लिङ्देनले हालै सार्वजनिक भएको लेनदेन सम्बन्धी अडियो प्रकरणले सरकारको नैतिकता र सुशासनप्रति रहेको दाबीलाई गम्भीर रूपमा प्रश्नको घेरामा ल्याएको बताए।
‘यदि सरकारमा अलिकति पनि नैतिकता बाँकी छ भने यस्ता काण्डमा मुछिएका मन्त्रीहरूको तत्काल राजीनामा आउनुपर्थ्यो,’ उनले भने, ‘बरु प्रधानमन्त्रीले उनीहरूलाई बर्खास्त गर्नु पर्दैन?’
सरकारले गणतन्त्रको रक्षाका नाममा जनतालाई भ्रममा पार्ने काम गरिरहेको आरोप लगाउँदै लिङ्देनले भने, ‘राजावादीलाई तह लगायौं भन्ने कुरा चील आयो, चील आयो भनेर चल्ला टिप्ने कथाजस्तै भयो। जनताको ध्यान अर्कोतिर मोडेर दुई ठूला पार्टीहरू सत्ताको नाममा देश लुट्न व्यस्त छन्, जनता भने टुलुटुलु हेरेर बस्न बाध्य छन्।’
सांसद लिङ्देनले संसदभित्र मात्रै नभई आवश्यक परे सडकमा उत्रेर पनि यस्ता विषयको विरोध गर्ने राप्रपाको तयारी रहेको बताए।
भिजिट भिसा प्रकरण लगायतका विषयमा रास्वपा र राप्रपाले निरन्तर विरोध गरिरहेपनि संसद चलाउन जबर्जस्ती गरिएको भन्दै उनले सभामुखको भूमिकामाथि पनि प्रश्न उठाए।
‘यो संसद् जबर्जस्ती चलाउनु सरकारको अकर्मण्यता मात्रै होइन, सभामुखको कार्यकालकै सबैभन्दा बदनाम कालखण्ड बन्नेछ,’ उनले चेतावनी दिँदै भने, ‘प्रतिपक्षी दलहरूले उठाएका गम्भीर विषयमा संवाद र समाधान खोज्न सभामुखले पहल गर्नुपर्छ।’
उनले सबै पक्षसँग छलफलमार्फत निष्कर्ष निकालेर संसदलाई प्रभावकारी बनाउने वातावरण तयार गर्न आग्रहसमेत गरे।
प्रकाशित मिति: ३० असार २०८२, सोमबार












प्रतिक्रिया