काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अदालतको आदेशको अपमान गर्दै हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको आरोप लगाएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बजगाईंले रास्वपाले सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधको शिकार बनाइएको भन्दै चलाएको अभियान न्यायालयको आदेशविपरीत भएको टिप्पणी गरे।
‘प्राकृतिक विपत्तिका बेला देश एकजुट हुनुपर्ने समयमा तपाईँहरू अदालतको निर्णयको अवहेलना गर्दै हस्ताक्षर अभियान चलाइरहनु भएको छ,’ बजगाईंले भने, ‘जो बोल्छ उसको अवस्था ढाकाराम र मुकुलजस्तै बनाइन्छ, अनि तपाईँहरू हामीलाई कानुनी शासन र लोकतन्त्रको पाठ पढाउने?’
उनले रास्वपाले आफ्नो नैतिक र कानुनी हैसियत प्रष्ट पार्नुपर्ने बताए। ‘पहिला आफैंमाथिको दाग मेट्नुस्, त्यसपछि मात्रै अरूलाई उपदेश दिनुस्,’ बजगाईंले भने।
रास्वपाको प्रवृत्तिमाथि टिप्पणी गर्दै उनले थपे, ‘हात्तीका दाँत देखाउने अर्कै, चपाउने अर्कै भनेजस्तो व्यवहार छ तपाईँहरूमा। प्रचारवाजीमा रमाउने, सतही नाराबाजी गर्ने र लोकतान्त्रिक मूल्य विपरीतको आचरण देखाउने प्रवृत्तिका कारण तपाईंहरू प्रतिगामी र गैरप्रजातान्त्रिक देखिनु भएको हो।’
सांसद बजगाईंले निष्पक्ष न्याय प्रक्रियामा विश्वास राख्न सबैलाई आग्रह गर्दै संसद र अदालतलाई दबाबमुक्त वातावरणमा काम गर्न दिनुपर्ने धारणा राखे।
प्रकाशित मिति: ३० असार २०८२, सोमबार












प्रतिक्रिया