काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालको सरकार दलाल र बिचौलियाका स्वार्थमा सञ्चालन भइरहेको आरोप लगाएका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा विशेष सम्बोधन गर्दै उनले वर्तमान सरकार अप्राकृतिक गठबन्धनको उपज भएको बताउँदै त्यसको चरित्र स्वयंले नै उजागर गरिसकेको दाबी गरे। उनले भने, “सरकार बनाउने बेलामा जुनजुन तर्क गरियो, त्यस पछाडिको स्वार्थ र चलखेल आज लोकले नै लाज मान्ने गरी खुलिसकेको छ।”
प्रचण्डले अर्बौंको सेटिङ उल्ट्याउने प्रयासमा बनेको गठबन्धनले नियामक निकायदेखि सुरक्षासम्म बिचौलियाको इशारामा निर्णय गर्ने खतरनाक अभ्यास गर्दै आएको टिप्पणी गरे। उनले धितोपत्र बोर्ड, भुटानी शरणार्थी प्रकरण, सरकारी जग्गा घोटाला, विद्युत् बक्यौता मिनाहा, भूमाफिया संरक्षण, र सरुवा–नियुक्तिमा हुने लाखौँको ‘डिल’ लगायतका घटनाहरूको उदाहरण पेश गर्दै सरकार नियन्त्रित नभई सञ्चालित भएको गम्भीर आरोप लगाए।
स्टक एक्सचेन्जको नयाँ लाइसेन्स वितरण र सुरक्षासम्बन्धी हतियार खरिद प्रक्रियामा भइरहेको ‘चलखेल’ प्रति चिन्ता व्यक्त गर्दै उनले सरकार पारदर्शिता र विधिको शासनमा चल्न इच्छुक छ कि छैन भन्ने प्रश्नसमेत उठाए।
“दलाल, कमिसन एजेन्ट र बिचौलियाको निर्देशनमा सरकार चल्ने हो भने सुशासनको पतन हुने मात्र होइन, लोकतन्त्र नै संकटमा पर्छ,” अध्यक्ष प्रचण्डको चेतावनी थियो।
प्रकाशित मिति: ३० असार २०८२, सोमबार












प्रतिक्रिया