काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको ठूलो दल नेपाली कांग्रेससमेत अहिले ‘स्वर्ग र नर्कको गोलचक्कर’ मा फसेको महसुस भएको बताएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारमा देखिएको स्वेच्छाचारिता, अहंकार र प्रतिशोधपूर्ण प्रवृत्तिको चक्रव्यूहमा कांग्रेस पनि अल्झिएको टिप्पणी गरे।

advertisement

‘एकपछि अर्को गर्दै देखिएको स्वेच्छाचारिता र प्रतिशोधी चरित्रले सरकार संकटतर्फ उन्मुख भएको छ,’ उनले भने, ‘नेपाली कांग्रेस पनि यसैमा समर्पित भएको जस्तो देखिन्छ। यस्तो लाग्छ, कांग्रेस पनि स्वर्ग र नर्कको गोलचक्करको फन्दामा परेको छ।’

उनले वर्तमान सरकार गठनपछि कुनै ठोस र सकारात्मक कार्य नभएको आरोप लगाए। ‘अघिल्लो सरकारले शुरू गरेका योजनाको प्रभावबाहेक, पछिल्लो एक वर्ष सरकारको निष्क्रियता र नीति विहीनताले अर्थतन्त्रमा अवसर गुमेको वर्ष बनेको छ,’ प्रचण्डले दाबी गरे।

प्रचण्डले वैदेशिक रोजगारीमा गएकाहरूको संख्या उच्च हुनुको कारण सरकार रोजगार सिर्जना गर्न असफल भएकोप्रति इंगित गर्दै रेमिट्यान्स वृद्धिलाई सरकारको उपलब्धि भनेर देखाउनु भ्रम फैलाउने प्रयास मात्र भएको बताए।

‘ब्याजदर घट्दा पनि कर्जा प्रवाह हुन सकेको छैन, बैंकहरूमा ६–७ खर्ब रुपैयाँ थन्किएको छ,’ उनले भने, ‘यसबाट स्पष्ट हुन्छ कि सरकार स्रोत साधनको समुचित परिचालन गर्न असफल भएको छ।’

उनले थपे, ‘यस्तो नीतिगत अनिश्चितता र अव्यवस्थाले पूँजी पलायन, बचत निरुत्साहित हुने, जोखिमयुक्त क्षेत्रमा लगानी बढ्ने, र समग्र अर्थतन्त्र थप संकटमा जाने खतरा छ।’

प्रचण्डले सरकारलाई बेलैमा सच्चिएर जवाफदेही बन्न र देशको आर्थिक, राजनीतिक स्थायित्वका लागि जिम्मेवार भूमिका खेल्न सुझावसमेत दिए।

प्रकाशित मिति: ३० असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com