काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले भिजिट भिसा प्रकरणमा उठाइएको विषयलाई तोडमोड गरी व्याख्या नगर्न सत्तापक्षलाई आग्रह गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष सम्बोधन गर्दै लिङ्देनले विपक्षी दलहरूले कुनै व्यक्ति विशेषको विरोध नभई भिजिट भिसाको नाममा भइरहेको संस्थागत मानव तस्करी, ठगी र सरकारकै संलग्नतामा भइरहेको गलत प्रवृत्तिको विरुद्धमा आवाज उठाएको स्पष्ट पारे।

advertisement

“भिजिट भिसामा जाने व्यक्तिको होइन, भिजिट भिसाको नाममा रकम असुली गरी बेरोजगार युवाहरूलाई विदेश लैजाने भन्दै ठग्ने गिरोहको विरोध गरेका हौँ,” लिङ्देनले भने, “सरकारी संरक्षणमा चलिरहेको यस्ता गिरोह र प्रवृत्तिलाई बेवास्ता गर्नु दु:खद छ।”

उनले प्रधानमन्त्रीकै नेतृत्वमा गठन गरिएको सुशासन आयोगको अस्तित्वमाथि प्रश्न उठाउँदै, मन्त्रीहरू एकपछि अर्को घोटालामा मुछिँदा प्रधानमन्त्री किन मौन छन् भनेर जिज्ञासा व्यक्त गरे।

“मन्त्रीहरू दिनहुँजसो घोटालामा तानिँदै छन्, तर प्रधानमन्त्रीको नेतृत्वमा रहेको सुशासन आयोग भने मौन छ। यस्तो अवस्थामा सरकारको नैतिक धरातल कहाँ पुगेको छ?” लिङ्देनले प्रश्न गरे।

त्यस्तै, उनले ‘चील आयो चील आयो’ भनेर जनताको ध्यान अन्यत्र मोड्ने र मन्त्रिपरिषदमा बसेर दलहरू मिलेर देश लुट्ने प्रवृत्तिको कडा विरोध गरे।

“जनतामाझ सस्तो भावनात्मक खेल देखाएर मूल विषय ओझेलमा पार्ने काम भइरहेको छ,” उनले भने, “यस्तो प्रवृत्तिको हामीले न संसदमा समर्थन गर्छौं, न सडकमा स्वीकार्छौं।”

अध्यक्ष लिङ्देनले संसदमा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले डेढ महिनादेखि निरन्तर विरोध जनाइरहेकै अवस्थामा जबरजस्ती संसद सञ्चालन गरिएकोप्रति आपत्ति जनाए। उनले यस्तो अभ्यास संसदीय इतिहासकै कालो समयका रूपमा दर्ज हुने चेतावनी दिए।

“यो संसद्को इतिहासमै कालो अध्याय हो,” लिङ्देनले भने, “प्रतिपक्षका आवाज सुनिने ठाउँ संसद हो, त्यहाँ बहुमतको आडमा विपक्षीको आवाज थिच्नु लोकतन्त्रविरुद्धको अपराध हो।”

उनले सभामुखले निष्पक्षता देखाउँदै प्रतिपक्षीको माग सम्बोधन गराउने पहल गर्नुपर्नेमा जोड दिँदै भने, “सभामुखको भूमिका सन्तुलित, जिम्मेवार र संवादमुखी हुनुपर्छ, नत्र उहाँकै कार्यकालका लागि पनि यो दागपूर्ण समय हुनेछ।”

प्रकाशित मिति: ३० असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com