काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमाथि बिचौलिया र भ्रष्टाचारको स्वार्थमा सञ्चालन भइरहेको गम्भीर आरोप लगाएका छन्।

सिंहदरबारस्थित प्रतिनिधिसभामा सोमबार विशेष सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मन्त्रीहरू नै खुलेआम सरुवा र नियुक्तिको सन्दर्भमा लाखौँ रुपैयाँको डिलमा संलग्न रहेको उल्लेख गर्दै प्रधानमन्त्रीलाई सीधै प्रश्न गरे।
“प्रधानमन्त्रीज्यू, तपाईंका मन्त्रीहरू खुल्ला रूपमा लाखौँको सौदाबाजी गरिरहेका छन्,” उनले भने, “चित्रगुप्तलाई बयान दिन कहाँ जाने तयारी गर्दै हुनुहुन्छ?”

advertisement

प्रचण्डले सरकारको संरचना नै भ्रष्टाचार, भागबन्डा र बिचौलियाको स्वार्थमा आधारित रहेको आरोप लगाउँदै यो प्रवृत्तिले राज्यको औपचारिक संयन्त्रलाई निष्क्रिय बनाउने खतरा रहेको बताए।

“सरकारले नियन्त्रित निकायहरूलाई छायामा पारेर बिचौलियालाई निर्णायक बनाएको छ,” उनले भने, “यस्तो प्रवृत्तिले लोकतान्त्रिक शासन प्रणालीमाथि नै खतरा उत्पन्न गराएको छ।”

प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भ्रष्टाचार गर्दिनँ, गर्न दिँदिनँ’ भन्ने अभिव्यक्तिलाई प्रचण्डले ‘जनताले अब केवल जाली नाराजस्तो ठान्न थालेका छन्’ भन्दै आलोचना गरे।

“सरकारले देखाएको क्रियाकलापले त्यसको ठीक उल्टो प्रमाणित भइसकेको छ,” उनले भने, “मैले गत वर्ष नै चेतावनी दिएको थिएँ कि यो सरकार सुशासनको होइन, बिचौलियाको सेवा गर्ने उद्देश्यले बनेको हो।”

उनले वर्तमान सरकार जनजीविका, सामाजिक न्याय, सुशासन र आर्थिक समृद्धिजस्ता विषयप्रति संवेदनशील नभई सत्ताको संरक्षण र सौदाबाजीमै केन्द्रित भएको आरोप लगाए।

“सत्तामा बसेर एउटै मुद्दामा आफ्ना मानिसलाई जोगाउने र विपक्षीलाई कारबाही गर्ने प्रवृत्तिमा सरकार विश्व रेकर्ड कायम गर्न उद्यत छ,” उनले कटाक्ष गरे।

प्रचण्डले संसद, न्यायपालिका र जनताको अपेक्षालाई उपेक्षा गरेर सरकारले आफ्नो नैतिकता र वैधानिकतामाथि गम्भीर प्रश्न उठाएको भन्दै संसदबाटै सचेतना र प्रतिवाद सुरु हुनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: ३० असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com