काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा स्पेनमा आयोजित ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’को आडमा असम्बन्धित व्यक्तिहरू विदेश पठाइएको खुलासा गर्ने पत्रकार सन्तोष देउजामाथि दिइएको धम्कीप्रति प्रेस सेन्टर नेपालले गम्भीर आपत्ति जनाएको छ।

प्रेस सेन्टर नेपालका केन्द्रीय सचिवसमेत रहेका देउजाले कपुरबोट मिडियामार्फत अडियोसहित मानव तस्करीसम्बन्धी समाचार सार्वजनिक गरेका थिए। समाचार प्रकाशित भएपछि सत्तापक्ष नजिकका केही व्यक्ति र समूहहरूले देउजामाथि सामाजिक सञ्जालमार्फत धम्की, चरित्र हत्या र मानसिक त्रास फैलाउने प्रयास गरिरहेका छन्।

advertisement

सो घटनाप्रति कडा प्रतिक्रिया जनाउँदै प्रेस सेन्टर नेपालका महासचिव मनोज घर्तीमगरले सोमबार विज्ञप्ति जारी गर्दै भने, “समाचार लेखेको आधारमा पत्रकारलाई धम्क्याउने, दुष्प्रचार गर्ने र मानसिक दवाब दिने कार्य प्रेस स्वतन्त्रतामाथिको खुला हमला हो।”

विज्ञप्तिमा पत्रकार देउजाको सुरक्षामा सरकारको संवैधानिक जिम्मेवारी रहेको स्मरण गराउँदै घर्तीमगरले “संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको रक्षा गर्न सम्बन्धित निकाय गम्भीर हुनुपर्ने” माग गरेका छन्।

प्रेस सेन्टरले पत्रकार देउजामाथि भइरहेको डर-त्रास सिर्जना, धम्की र बदनाम गर्ने गतिविधिको कडा भर्त्सना गर्दै यस्तो कार्य तत्काल रोक्न आह्वान गरेको छ। साथै, पत्रकारको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाउन सरकार र सुरक्षाप्रतिस्ठानहरूको ध्यानाकर्षण गराइएको छ।

प्रकाशित मिति: ३० असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com