काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ गठबन्धनका प्रमुख घटक दलहरूका नेताहरूसँग समसामयिक राजनीतिक विषयमा महत्वपूर्ण छलफल गर्न लागेका छन्। सोमबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग प्रधानमन्त्री ओलीको संयुक्त बैठक तय भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ७ बजेपछि बैठक हुने कार्यक्रम रहेको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले जानकारी दिएका छन्। उनका अनुसार मन्त्रिपरिषद् बैठकपछि तीन नेताबीच समसामयिक विषयमा गम्भीर छलफल हुनेछ।

advertisement

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुससम्बन्धी अडियो काण्ड, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको संलग्नताबारे उठेका प्रश्न, र त्यसबाट सिर्जिएको सरकारको आलोचना विषयमा गहन छलफल हुने बताइएको छ।

यस्तै, सरकार गठनको एक वर्ष पुगेको सन्दर्भमा हालसम्मको उपलब्धिको समीक्षा र आगामी दिनमा सत्तागठबन्धन कसरी अगाडि बढ्ने भन्ने विषय पनि छलफलको एजेन्डामा रहेको स्रोतले जनाएको छ।

जसपाले पछिल्लो समय सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको छ भने नागरिक उन्मुक्ति पार्टीले भने समर्थन फिर्ता लिएर संसद् सचिवालयमा आधिकारिक पत्र पनि दर्ता गरिसकेको छ। यस्तो अवस्थामा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा दुवै दललाई फकाएर सत्तामा कायम राख्ने प्रयासमा जुटेको स्रोतको दाबी छ।

ओली–देउवा जोडी उपेन्द्र यादव नेतृत्वको जसपालाई पनि सरकारमा सहभागी गराउने सम्भावनाबारे छलफल गर्न तयार रहेको जनाइएको छ। बैठकपछि सत्तासमीकरणको रूप फेरिने सम्भावना पनि राजनीतिक वृत्तमा चर्चा भइरहेको छ।

प्रकाशित मिति: ३० असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com