काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र केही नेतामाथि गरिएको अनुशासन कारबाहीलाई “कोत पर्व” शैलीको अनुशासन पर्वको संज्ञा दिएका छन्।

सोमबार काठमाडौँमा आयोजित कांग्रेस बुद्धिजीवी विभागको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले अनुशासन कारबाही न त समय सान्दर्भिक भएको, न त पार्टीको परम्परा, कानुन र विधानअनुसार भएको जिकिर गरे।

advertisement

थापाले भने, “पार्टीको केन्द्रीय बैठक सकिएपछि म केही दिनको लागि विदेश गएको थिएँ। फर्केपछि भातृ संगठनहरूको अधिवेशन, विभागहरूको सक्रियता र पार्टीका कार्यक्रमहरू अघि बढाउने योजनामा थिएँ। तर बीचमा पार्टीभित्र एक अत्यन्तै नमिठो र दुर्भाग्यपूर्ण घटना भयो।”

उनले भने, “हामी अहिले चौतर्फी चुनौतीमा छौँ। यस्तो बेला पार्टीभित्र जसरी अनुशासन पर्व मनाइयो, त्यो न समयअनुकूल थियो, न परम्परानुकूल, न  विधानसम्मत।”

महामन्त्री थापाले अनुशासनको नाममा गरिएको निर्णयले पार्टीभित्रको एकता र निरन्तर भइरहेका सुधार प्रयासहरू कमजोर बनाउने बताए।

“दुई महामन्त्री देश दौडाहामा पार्टीका घाउहरू चिट्याउँदै हिँडिरहेका बेला एकातिर गल्ती सुधार्नु पर्ने नेतृत्वले अर्कातिर आगो थपिदिन्छ, यसरी पार्टी सम्हाल्न कठिन भइरहेको छ,” थापाले भने।

पार्टीभित्रको एकता, समन्वय र समस्याको समाधान खोज्न नेतृत्व गम्भीर बन्नुपर्ने थापाको धारणा छ। “हामीभित्र आत्मालोचना र सुधारको संस्कार स्थापित गर्नु जरूरी छ। अनुशासनको नाममा आन्तरिक संकट गहिरो बनाउने होइन,” उनले जोड दिए।

प्रकाशित मिति: ३० असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com