काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चालन गरिरहेको हस्ताक्षर संकलन अभियानप्रति उठेका प्रश्नहरूलाई पार्टीका प्रवक्ता मनिष झाले कडा रूपमा खण्डन गरेका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै प्रवक्ता झाले हस्ताक्षर अभियानलाई ‘हतियार संकलन’का रूपमा प्रस्तुत गर्नु दुर्भाग्यपूर्ण भएको बताए। उनले स्पष्ट पारे, “यो अभियान हतियार होइन, हस्ताक्षर संकलन हो। र, संकलित रकम कुनै घुस वा जबर्जस्ती होइन, नागरिकको स्वेच्छिक चन्दा हो।”

advertisement

रास्वपाले सहकारी ठगी प्रकरणमा पार्टी सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेमाथि राज्यले राजनीतिक प्रतिशोध साँधेको दाबी गर्दै असार ९ गतेदेखि देशव्यापी हस्ताक्षर संकलन अभियान सुरु गरेको हो। यो अभियान लामिछानेले असार ७ गते प्रहरी हिरासतबाट जारी गरेको बीस पृष्ठ लामो दस्तावेजमार्फत प्रस्ताव गरेका थिए।

हाल लामिछाने भैरहवा कारागारमा छन्। उनीमाथि चलिरहेको मुद्दाको सन्दर्भ उठाउँदै रास्वपाले अदालतको निर्णयमाथि प्रत्यक्ष प्रश्न उठाएको नभई जनभावना अभिव्यक्त गर्न हस्ताक्षर अभियान चलाएको स्पष्ट पारेको छ।

यता, नेपाली कांग्रेस र नेकपा एमालेलगायत सत्तारूढ दलहरूले भने यो अभियानप्रति आलोचना गर्दै आएका छन्। उनीहरूको भनाइमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरिएको हो। तर प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) र अन्य केही दलहरू — जस्तै राप्रपा, नेकपा एकीकृत समाजवादी — भने यो अभियानप्रति मौन समर्थनमा देखिएका छन्।

रास्वपाले हस्ताक्षर अभियान अझै पनि जारी राख्ने बताउँदै अभियानको अवधि कम्तीमा १०० दिनसम्म लैजाने तयारी गरेको छ।

प्रकाशित मिति: ३० असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com