काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संसदमा दिएको अभिव्यक्तिलाई सरकारबाट बाहिरिएको पीडा र कुण्ठाबाट प्रेरित रहेको टिप्पणी गरेका छन्।

सोमबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै बर्तौलाले प्रमुख प्रतिपक्षी दलको नेताले प्रणालीमाथि विश्वास जगाउने रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा अध्यक्ष प्रचण्डले त्यसको ठीक उल्टो व्यवहार देखाएको बताए।

advertisement

‘संसदमा विपक्षी नेताको आवाज सन्तुलित, सकारात्मक र सिङ्गो संसदलाई ऊर्जा दिने खालको हुनुपर्ने हो। तर प्रचण्डजीको अभिव्यक्तिमा व्यक्तिगत पीडा, आक्रोश र पूर्वाग्रह झल्किएको देखियो,’ बर्तौलाले भने, ‘सरकारबाट बाहिरिएको पीडाले उहाँलाई अझै तल्लो स्तरको टिप्पणी गर्न प्रेरित गरिरहेको देखिन्छ। यो दुःखद र अशोभनीय हो।’

बर्तौलाले अध्यक्ष प्रचण्डले सरकार र राज्यका सबै संयन्त्रप्रति अविश्वास जनाउँदै मन नपर्नेहरूलाई बिचौलिया र दलाल भनेर आरोप लगाउनु आपत्तिजनक भएको बताए।

‘प्रमुख प्रतिपक्षीको भूमिका सरकारलाई निगरानी र सुझाव दिने हो। तर उहाँले प्रणाली नै ध्वस्त पार्ने शैलीमा बोलेर गैरजिम्मेवार व्यवहार देखाउनुभयो,’ उनले भने, ‘शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने उद्देश्यले ल्याइएको टीआरसी विधेयकजस्ता सकारात्मक प्रयासहरूलाई समर्थन गर्नुको साटो उहाँ आलोचना र असन्तुलनतिर लाग्नुभयो।’

गठबन्धन सरकारको गति एकल सरकारजस्तो नहुने स्वीकार गर्दै बर्तौलाले अब सरकारले गियर फेरेर जनताको पक्षमा प्रभावकारी काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

प्रकाशित मिति: ३० असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com