काठमाडौं । पूर्वी तराई तथा मध्यपहाडी जिल्लालाई जोड्ने बिपी राजमार्ग पुनः अवरुद्ध भएको छ । सोमबार राति परेको वर्षासँगै आएको भेलले बिपी राजमार्गको विभिन्न स्थानमा सडक कटान गरेका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले वर्षासँगै आएको भेलका कारण बिपी राजमार्गअन्तर्गत रोसी गाउँपालिका– ११ माम्ती, रोसी गाउँपालिका–९ पिन्थली र रोसी गाउँपालिका–९ बिरुवामा खहरे खोलामा आएको लेदोका कारण सडक अवरुद्ध भएको जानकारी दिए ।

advertisement

प्रहरी नायब उपरीक्षक घलेले माम्तीमा सोमबार राति १० बजे, पिन्थलीमा साढे १० बजे र बिरुवामा सोमबार राति साढे ११ बजेदेखि सडक पूर्ण रुपमा अवरुद्ध रहेको बताए । अवरुद्ध सडक खुलाउनका लागि प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

वर्षायाममा हुन सक्ने बिपी राजमार्ग अवरुद्ध हटाउनका लागि सडक डिभिजन भक्तपुरले धुलिखेलदेखि सिन्धुलीको सिमाना डालाबेशीसम्म जेसिबी, लोडर, ग्रेडर, ट्रीपरलगायतका २१ वटा उपकरण राजमार्गमा राखेको जनाएको छ । गत असोज महिनामा आएको बाढीपहिरोका कारण क्षति पुगेपछि सामान्य वर्षामा समेत बिपी राजमार्ग अवरुद्ध हुने गरेको छ ।

 

प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com