काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले घुस ‘डिल’ सम्बन्धी अडिओ प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त प्रकरणमा चासो व्यक्त गर्दै गुप्तालाई राजीनामा दिन निर्देशन दिएका थिए। सोही अनुसार मन्त्री गुप्ता मंगलबार बिहान बालुवाटार पुगेर राजीनामा पत्र बुझाएका हुन्।
प्रधानमन्त्री ओलीले सोमबार साँझ गुप्तालाई बालुवाटार बोलाएर अडिओ प्रकरणमा संलग्न व्यक्तिहरूको बारेमा सोधपुछसमेत गरेका थिए। अडिओको सत्यता पुष्टि गर्नका लागि फरेन्सिक परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ। साथै निष्पक्ष छानबिन सुनिश्चित गर्न अख्तियारलगायत सम्बन्धित नियामक निकायहरूलाई पत्राचार गरिने प्रधानमन्त्री कार्यालय निकट स्रोतले जानकारी दिएको छ।
केही दिनअघि भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति र कर्मचारी सरुवासम्बन्धी घुस लेनदेनको अडिओ सार्वजनिक भएको थियो, जसमा मन्त्री गुप्ता र एक बिचौलिया बीच लाखौं रुपैयाँको ‘डिल’ भएको दाबी गरिएको छ।
प्रकरण सार्वजनिक भएपछि मन्त्री गुप्तालाई बर्खास्त गर्न र छानबिन गर्न चौतर्फी दबाब बढेको थियो।
प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार












प्रतिक्रिया