काठमाडाैं । गत महिना एयर इन्डिया जेट दुर्घटनामा दुई सय साठी जनाको मृत्यु भएपछि बोइङका धेरै मोडलमा इन्धन स्विचको छानबिन गर्न भारतले आफ्ना एयरलाइन्सलाई निर्देशन दिएको छ।
भारतको विमान दुर्घटना अनुसन्धान ब्युरोले शनिबार जारी गरेको प्रारम्भिक प्रतिवेदनले उडान भरेको केही समयपछि स्विच रन पोजिसनबाट कटअफमा फ्लिप भएको पत्ता लगाएको छ।
प्रतिवेदनले जुन बाह्रको विपत्तिका लागि कुनै निष्कर्ष वा दोष दिएको छैन, तर एक पाइलटले अर्का पाइलटलाई किन इन्धन कटौती गरेको भनेर सोधेको र दोस्रो पाइलटले आफूले नगरेको जवाफ दिएको सङ्केत गरेको छ।
भारतको नागरिक उड्डयन महानिर्देशालय (डिजिसिए) ले सोमबार सात सय सत्तरी र सात सय सैंतीस सहित धेरै बोइङ मोडलको इन्धन नियन्त्रण स्विचमा लक गर्ने सुविधाको अनुसन्धान गर्न निर्देशन जारी गरेको छ।
बोइङले आफ्ना जेटमा इन्धन स्विच लक सुरक्षित रहेको अपरेटरलाई सूचित गरेको जानकारी दिएपछि यो निर्देशन आएको हो।
तर यो अमेरिकी सङ्घीय उड्डयन प्रशासनले जारी गरेको विशेष उड्डयनयोग्यता सूचना बुलेटिन (एसएआइबी) अनुसार थियो, जसले लक गलत तरिकाले सार्न नसकिने सुनिश्चित गर्न निरीक्षण गर्न सिफारिस गरेको थियो।
धेरै भारतीय र अन्तर्राष्ट्रिय एयरलाइन्सले पहिल्यै इन्धन स्विचको आफ्नै निरीक्षण सुरु गरिसकेका छन्।
‘यो डिजिसिएको ध्यानमा आएको छ, अन्तर्राष्ट्रिय र घरेलु सहित धेरै अपरेटरले एसएआइबी अनुसार आफ्नो विमान फ्लिटमा निरीक्षण सुरु गरेका छन्,’ डिजिसिएले एक विज्ञप्तिमा भनेको छ।
एसएआइबीको दृष्टिकोणमा, प्रभावित विमानका सबै एयरलाइन्स अपरेटरले जुलाई इक्काइससम्म निरीक्षण पूरा गर्नुपर्ने डिजिसिएले भनेको छ।
बोइङ सात सय सत्तरी–आठ ड्रिमलाइनर पश्चिमी भारतको अहमदाबादबाट लन्डन जाँदै गर्दा दुर्घटना भएको थियो। दुर्घटनापछि विमानमा सवार दुई सय बयालीस जना मध्ये एक बाहेक र जमिनमा रहेका उन्नाइस जनाको मृत्यु भएको थियो।
सोमबार कर्मचारीलाई लेखेको पत्रमा एयर इन्डियाका सिइओ क्याम्पबेल विल्सनले दुर्घटनाको अनुसन्धान जारी रहेको र ‘समयपूर्व निष्कर्ष’ मा पुग्नु मूर्खता हुने बताएका छन्। एएफपी
प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार













प्रतिक्रिया