काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा स्वदेशी तथा विदेशी लगानीकर्ताका लागि भरोसापूर्ण, पारदर्शी र सहज वातावरण निर्माण गर्न सरकार कटिबद्ध हुनुपर्ने बताएका छन्।

मंगलवार काठमाडौँमा आयोजित स्वतन्त्र विद्युत उत्पादक संघको २३औँ वार्षिक साधारण सभामा सम्बोधन गर्दै देउवाले लगानीकर्तालाई हतोत्साहित गर्ने खालका व्यवहार राज्यले गर्नै नहुने स्पष्ट पारे। “लगानी ल्याउने जो कोहीलाई पनि सजिलो प्रक्रिया र सुनिश्चित वातावरण चाहिन्छ, दुःख दिने कुरा त सरकारको सोचाइमै आउनु हुँदैन,” उनले भने।

advertisement

उनले विद्युत् उत्पादन, उपभोग र व्यापारलाई सुनिश्चित गर्ने जिम्मेवारी राज्यकै भएको उल्लेख गर्दै ऊर्जा क्षेत्रमा निजी क्षेत्रको सहभागिता अत्यावश्यक रहेको धारणा राखे। “जलविद्युत् हाम्रो प्रकृतिले दिएको अमूल्य स्रोत हो, यसको अधिकतम उपयोगका लागि निजी क्षेत्रको सक्रियता अपरिहार्य छ,” देउवाले जोड दिए।

देउवाले जलविद्युत् आयोजनाहरूको सेयर निष्कासनमा रोक लगाउनु नीति विपरित कदम भएको बताए। उनले धितोपत्र बोर्डले चाँडै जलविद्युत् कम्पनीहरूको सेयर निष्कासन प्रक्रिया अघि बढाउने विश्वास व्यक्त गरे।

नेपालको समग्र आर्थिक तथा सामाजिक विकासमा उदारवाद र निजीकरण नीति प्रमुख आधार रहेको स्मरण गराउँदै देउवाले यसको कार्यान्वयनका क्रममा देखिएका कमजोरीलाई सुधार गरेर निजी क्षेत्रलाई अझ उत्साहजनक ढंगले अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।

“देशभित्र लोडसेडिङ हट्नु निजी क्षेत्रकै उत्पादन क्षमताको उपलब्धि हो,” उनले भने, “यो मार्गलाई थप सुदृढ गर्दै हामी ऊर्जा निर्याततर्फ उन्मुख हुनु जरुरी छ।”

उनका अनुसार, लगानीमैत्री नीति, दीगो पूर्वाधार र निजी क्षेत्रसँगको सहकार्यले मात्र देशलाई समृद्धिको दिशामा अघि बढाउन सकिन्छ।

प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com