काठमाडौं । भूमिसम्बन्धी विधेयक संसदबाट छिटो पारित गर्ने तयारीमा रहेका सत्ता गठबन्धनका दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग सहकार्यको खोजी गरेका छन्।
बुधवार प्रतिनिधिसभामा दफावार छलफलको कार्यसूचीमा रहेको सो विधेयक कांग्रेसकै केही सांसदको असहमतिको कारण फिर्ता भएपछि सत्ता गठबन्धन दबाबमा परेको थियो। कांग्रेसका सांसद विश्वप्रकाश शर्मा र जसपाले विधेयकप्रति सामाजिक सञ्जालमै असन्तुष्टि जनाएपछि कार्यसूची हटाइएको हो।
यही पृष्ठभूमिमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार साँझ बालुवाटारमा जसपा अध्यक्ष यादवसँग छलफल गरेका छन्। उनीहरूले यादवलाई विधेयकबारे सहकार्य गर्न, सरकारको समर्थन फिर्ता नगर्न र प्रतिपक्षी भूमिका नखेल्न आग्रह गरेका थिए।
प्रधानमन्त्री ओलीले बैठकमा भने, “भूमि विधेयकलाई लिएर दलहरूबीच अविश्वास र द्वन्द्व बढ्ने संकेत देखिएको छ। तपाईंको समर्थनले यो खेल रोक्न सकिन्छ। सहकार्यबाट सकारात्मक वातावरण बनाऔँ।” छलफलमा सहभागी एक नेताका अनुसार ओली र देउवाले छलफलको सुरुमै यादवलाई सहकार्यको प्रस्ताव राखेका थिए।
यादवले पनि आफ्ना दलले उठाउँदै आएका केही विषयहरूमा साथ दिन आग्रह गरे, यद्यपि ती विषयहरू सार्वजनिक गरिएका छैनन्।
जसपाले गत असार ८ गतेको कार्यकारिणी समितिको बैठकमार्फत सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ। तर, संसदीय दलको बैठकले औपचारिक निर्णय नगरेका कारण ओली र देउवाले यादवलाई बालुवाटार बोलाएर समर्थन यथावत् राख्न प्रेरित गरेका हुन्।
बालुवाटारमा करिब एक घण्टा चलेको बैठकमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा, जसपा अध्यक्ष यादव, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, एमाले महासचिव शंकर पोखरेल, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र जसपाका नेता राजकिशोर यादव सहभागी थिए।
सरकार पक्षले जसपाको समर्थन सुरक्षित गर्दै भूमिसम्बन्धी विधेयक पारित गर्न बहुमत सुनिश्चित गर्ने रणनीति बनाएको संकेत उक्त छलफलबाट प्रष्ट भएको छ।
प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार













प्रतिक्रिया