काठमाडौं। स्पेनको सेभिल्लामा सम्पन्न संयुक्त राष्ट्रसंघीय सम्मेलनमा नेपालबाट असम्बन्धित व्यक्तिहरूलाई सहभागी गराइएको भनिएको घटनाबारे छानबिन गर्न सरकारले उच्चस्तरीय समिति गठन गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत एसएसपी होविन्द्र बोगटीको नेतृत्वमा गठित छानबिन समितिमा मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी रुगम कुँवरसहित ६ जना प्रहरी अधिकृतहरू छन्।

advertisement

गृहमन्त्री रमेश लेखकले उक्त घटनाको अनुसन्धान गर्न निर्देशन दिएपछि समिति गठन गरिएको हो। सीआईबीका एक वरिष्ठ अधिकारीका अनुसार समितिले सम्मेलनमा सहभागी गराउने नाममा हुने गरेका अनियमितता र संलग्न व्यक्तिहरूबारे विस्तृत अध्ययन गर्नेछ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागिता रहेको सो सम्मेलनमा बिचौलियाहरूले असम्बन्धित व्यक्तिहरूलाई कागजात मिलाएर पठाएको विषयमा संसदमा प्रश्न उठिरहेका छन्। संसदका केही सदस्यहरूले सम्मेलनको नाममा अवैध रूपमा व्यक्तिहरू विदेश पठाइएको भन्दै गम्भीर आपत्ति जनाएका छन्।

स्पेनको सेभिल्लामा गत जुन ३० देखि जुलाई २ सम्म संयुक्त राष्ट्रसंघीय सम्मेलन सम्पन्न भएको थियो। उक्त सम्मेलनमा सहभागी गराउने भन्दै बिचौलियाहरूले लाखौं रुपैयाँ असुली केही व्यक्तिहरूलाई भिजिट भिसामा पठाएको आरोप सार्वजनिक भएको छ।

गृह मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार भिजिट भिसामा गएका ती व्यक्तिहरू फर्किए/नफर्किएको तथ्य पुष्टि भएपछि पठाउने गिरोहबारे अनुसन्धान अघि बढाइनेछ। “अनुसन्धानले दोषी ठहर गरेमा उनीहरूविरुद्ध फौजदारी अभियोग लगाइनेछ,” ती अधिकारीले जानकारी दिए।

सरकारले अब यस्ता खालका अन्तर्राष्ट्रिय कार्यक्रममा प्रतिनिधित्वका नाममा भइरहेको अनियमितता रोक्न कडाइ गर्ने संकेत दिएको छ।

प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com