काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभा सञ्चालनमा चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पाँचौँ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई पनि समावेश गरेर अघि बढ्न सभामुखलाई आग्रह गरेको छ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै माओवादी सांसद राजन दाहालले सभामुख देवराज घिमिरेलाई रास्वपा र राप्रपालाई विश्वासमा लिई संसद् अगाडि बढाउन हार्दिक आग्रह गरे।
“रास्वपा र राप्रपा विगत केही समयदेखि आफ्ना माग र असन्तुष्टिसहित निरन्तर विरोधमा छन्। सभामुखज्यू, ती दलहरूलाई पनि विश्वासमा लिएर संसद् सञ्चालन गर्न आवश्यक छ,” दाहालले भने।
उनले सरकारको पछिल्लो एक वर्षको गतिविधि अपारदर्शी र जनउत्तरदायित्वविहीन रहेको आरोप पनि लगाए। “सरकार लगातार विभाजित छ, निर्णयहरू एकढिक्का छैनन्। सबै निर्णय अपारदर्शी छन्, जनताप्रति सरकारको उत्तरदायित्व देखिँदैन,” उनले आलोचना गरे।
“हजार तर्क गरिए पनि सत्य एउटै हुन्छ— सरकार पारदर्शिता र जवाफदेहिताबाट टाढिएको छ,” दाहालले थपे।
माओवादी सांसद दाहालको भनाइ संसद् सञ्चालनमा सबै पक्षको सहभागिता सुनिश्चित गर्दै पारदर्शी शासन प्रणालीका लागि विपक्षी दलको दबाबस्वरूप आएको देखिएको छ।
प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार












प्रतिक्रिया