काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट अवरुद्ध जलविद्युत् आयोजनामध्ये करिब ९० मेगावाट क्षमताका आयोजना पुनः सञ्चालनमा ल्याउन थालिएको बताएका छन्।
मंगलबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले चिलिमे, देवीघाट, त्रिशूली, सूर्यकुण्ड, बुद्धभूमि, अपरमौलुङलगायतका आयोजनाहरू पुनः सञ्चालनमा आइसकेको जानकारी गराए। उनले ६० मेगावाट क्षमताको त्रिशूली ‘ए’ जलविद्युत् आयोजना पनि केही दिनमै सञ्चालनमा आउने जानकारी दिए।
बाढीले क्षति पुर्याएका उच्च क्षमताका आयोजनालाई चाँडो सञ्चालनमा ल्याउन आवश्यक मर्मत तथा पुनःनिर्माण कार्य सुरु भइसकेको पनि मन्त्री खड्काले स्पष्ट पारे।
“सबैभन्दा बढी क्षति १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा भएको छ,” उनले भने, “यसको हेडवर्क्स पूर्णरूपमा क्षतिग्रस्त भएकाले सञ्चालनमा ल्याउन केही समय लाग्नेछ, तर काम तीव्र गतिमा अगाडि बढाइएको छ।”
अघिल्लो बैठकमा मन्त्री खड्काले बाढीका कारण त्रिशूली नदी करिडोरमा रहेका जलविद्युत् आयोजना र प्रसारण संरचनामा गम्भीर क्षति भई करिब २६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको जानकारी दिएका थिए।
उनका अनुसार अहिले बाढीको बहाव केही घटे पनि जोखिम कायमै रहेको छ। मन्त्री खड्काले विस्तृत अध्ययन र मूल्याङ्कनको काम अघि बढाइएको उल्लेख गर्दै पूर्वसूचना प्रणालीलाई प्रविधिमैत्री, प्रभावकारी र सक्रिय बनाउने प्रतिबद्धता जनाए।
“हिमतालजन्य जोखिमको मूल्याङ्कन र अनुगमनलाई संस्थागत गर्न आवश्यक छ,” मन्त्री खड्काले बताए।
प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार












प्रतिक्रिया