काठमाडौं । नेकपा (एमाले)की राष्ट्रिय सभा सांसद भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार अपराह्न उनलाई मन्त्री पदमा नियुक्त गरेका हुन्।
यसअघि उक्त मन्त्रालयको जिम्मेवारी एमालेकै प्रतिनिधि सभा सांसद राजकुमार गुप्ताले सम्हालिरहेका थिए। तर, ७८ लाख रुपैयाँ घुस लिँदै गरेको अडियो सार्वजनिक भएपछि गुप्ताले मंगलबार नै पदबाट राजीनामा दिएका थिए।
गुप्ताको राजीनामापछि रिक्त भएको पदमा प्रधानमन्त्रीको सिफारिसअनुसार न्यौपानेलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा ७६ को उपधारा (९) अनुसार प्रधानमन्त्रीको सिफारिसमा माननीय भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पदमा नियुक्त गरिएको छ।”
न्यौपानेलाई मन्त्रिपरिषद्मा ल्याउने निर्णयसँगै सरकारको संरचनामा फेरबदल भएको छ। नयाँ मन्त्रीको रूपमा उनले चाँडै पदभार सम्हाल्ने तयारी भइरहेको छ।
प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार












प्रतिक्रिया