काठमाडौँ । संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चित्रगुप्तको उदाहरण दिएकाे प्रसंगले संसददेखि सामाजिक सञ्जालसम्म चर्काे बहस जन्माएको छ।

सोमबारको प्रतिनिधि सभा बैठकमा प्रचण्डले भ्रष्टाचारको सन्दर्भमा प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालमा दिएको एक अभिव्यक्तिलाई स्मरण गराउँदै भने, “प्रधानमन्त्री ओलीले एकपटक चित्रगुप्तलाई बयान दिन तयार छु भन्नुभएको थियो, अहिले त जहाँ सरकार, त्यहाँ भ्रष्टाचार देखिन्छ, चित्रगुप्तलाई अब के बयान दिने?”

advertisement

उनको यो टिप्पणी सार्वजनिक भएपछि सामाजिक सञ्जालमा दुवै नेतामाथि चर्को आलोचना सुरु भएको छ। आलोचकहरूले प्रचण्ड स्वयंले पनि चित्रगुप्तलाई के जवाफ दिने भन्ने प्रश्न उठाएका छन्।

सामाजिक सञ्जाल प्रयोगकर्ता रत्न पोखरेल लेख्छन्, “हजारौं सर्वसाधारणको सहदातबाट आएको गणतन्त्रमा तपाईंहरूले खेलेको भूमिकाबारे चित्रगुप्तलाई के भन्नुहुन्छ?” उनले भ्रष्टाचारमा डुबेको राजनीतिक नेतृत्वलाई चित्रगुप्तलाई जवाफ दिनुपर्ने समय आएको उल्लेख गरेका छन्।

त्यस्तै, सामाजिक टिप्पणीकार मिलन आचार्यले दुवै नेतामाथि लक्षित गर्दै लेखेका छन्, “भ्रष्टाचार, पलायन, र जनताको नैराश्यका सवालमा तपाईंहरूले जवाफ दिनुपर्ने अवस्था छ। चित्रगुप्त साँच्चै भगवान् हुन् भने बयान होइन, सायद सजाय पनि लेखिसकिएको होला।”

हिन्दू धर्मशास्त्र अनुसार चित्रगुप्त मृत्युका देवता यमराजका सहायक मानिन्छन्, जो प्रत्येक व्यक्तिको जीवनभरिका कर्महरूको लेखाजोखा राख्ने देवता हुन्। मान्यता अनुसार, मृत्युपछि मानिसले स्वर्ग वा नर्क जानुपर्ने निर्णय चित्रगुप्तको अभिलेख हेरेर यमराजले गर्छन्।

प्रचण्डको चित्रगुप्तप्रतिको सन्दर्भले ओलीमाथि व्यंग्य प्रहार त गर्‍यो नै, तर यसै बहानामा जनसाधारणले प्रचण्ड र माओवादी नेतृत्वको विगत र वर्तमान भूमिकामाथि समेत गम्भीर प्रश्न उठाएका छन्। संसदको भाषण एउटा प्रतीक बनेर, भ्रष्टाचार र जवाफदेहिताको गम्भीर बहसको विषय बनेको छ।

प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com