काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विमानस्थल, रेलमार्गलगायतका ठूला पूर्वाधार आयोजनामा वैकल्पिक विकास वित्त परिचालन गरिने बताएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले वैकल्पिक विकास कोषलाई ऊर्जा उत्पादन, प्रसारण र वितरणमा मात्र सीमित नराखी, सडक, सुरुङ मार्ग, औद्योगिक पूर्वाधार, सहरी विकास, डाटा सेन्टर, केबुलकार र पोडवेजस्ता क्षेत्रमा समेत परिचालन गरिने जानकारी दिए।
उनले वैकल्पिक विकास वित्तमार्फत स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्दै उच्च प्रतिफल दिने ठूला परियोजनामा लगानी गरिने र त्यसबाट पूर्वाधार निर्माणमा स्रोत अभावको समस्या समाधान हुने विश्वास व्यक्त गरे।
सरकारले हालै संसदमा पेस गरेको वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयकले राष्ट्रिय प्राथमिकता प्राप्त परियोजनाहरूमा स्रोत जुटाउने, सार्वजनिक लगानीको खाडल पूर्ति गर्ने र परम्परागत वित्तीय प्रणालीले धान्न नसक्ने आयोजनाहरूको वित्तीय अन्तर पूर्ति गर्ने लक्ष्य राखेको छ।
पछिल्लो समय सार्वजनिक ऋणको आकार बढ्दै गइरहेका बेला निजी क्षेत्रको दीर्घकालीन लगानी आकर्षित गरी सरकारी ऋणको दबाब घटाउने, रोजगारी सिर्जना गर्ने र दिगो विकास सुनिश्चित गर्ने उद्देश्यसहित यो विधेयक ल्याइएको अर्थमन्त्री पौडेलले बताए।
प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार












प्रतिक्रिया