काठमाडौं। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ को धार्मिक पर्यटकीयस्थल खयरबाराही ताल जोड्न पदमार्ग निर्माण भएको छ । रु एक करोड ७० लाख चन्दा सहयोग जुटाएर उक्त पदमार्ग निर्माण गरिएको हो ।

खयरभारानी थान तथा क्षेत्र संरक्षण साथै व्यवस्थापन समितिको अगुवाइमा १० वर्षमा पाउद्वार गाउँदेखि लरेनी–खोप्रा, खयरखोला हुँदै खयरबाराही ताल जोड्ने पदमार्गको साथै चौतारी निर्माण र खानेपानीको सुविधा पुर्‍याइएको हो ।

advertisement

समितिका संस्थापक राजु पुनले पाउद्वार र छिमेकी गाउँबासी तथा भक्तजनहरूले दिवङ्गत आफन्तको स्मृतिमा पदमार्ग र चौतारी निर्माण गरेको जानकारी दिए । सेवा निवृत्त बेलायती गोर्खा सैनिक पुनको अगुवाइमा विसं २०७२ देखि पाउद्वार–खयरभारानी ताल जोड्ने पदमार्ग निर्माण अभियान थालिएको थियो ।

“दिवङ्गत आफन्तको नाममा चौतारा र बाटो बनाउने पुरानो चलनलाई धार्मिक पर्यटनसँग जोड्ने हाम्रो प्रयासमा स्थानीयवासीका साथै खयरबाराहीमा पूजाआजा गर्न आउने अन्य ठाउँका भक्तजनले साथ दिनुभएको छ”, पुनले भने, “१० वर्षमा ६७ जनाले गर्नुभएको रु एक करोड ७० लाख सहयोगमा २७ दशमलव पाँच किलोमिटर पदमार्ग निर्माण भएको छ ।”

सत्र जना दाताको सहयोगमा पाउद्वार–लरेनी खण्डमा चार दशमलव पाँच किलोमिटर, २३ जनाको सहयोगमा लरेनी–खोप्रा खण्डमा ११ किलोमिटर र २७ जनाको सहयोगमा खोप्रा–खयर खण्डमा १२ किलोमिटर पदमार्ग निर्माण भएको उनको भनाइ छ ।

भिरालो पाखामा ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माण भएपछि स्थानीयवासी, भक्तजन र पर्यटकहरूलाई आवतजावतमा सहज भएको पाउद्वारका बासिन्दा हरिप्रसाद तिलिजाले बताए । दाताको सहयोगमा विभिन्न ठाउँमा आश्रय स्थल र खानेपानीको व्यवस्था मिलाइएको छ ।

 

प्रकाशित मिति: ३२ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com