काठमाडौं । विवादास्पद ठेकेदार मनोज भेटवालसम्बन्धी बैंकिङ कसुर प्रकरण नयाँ मोडमा पुगेको छ। भेटवालविरुद्ध जाहेरी दिने राजकुमार बराललाई नै प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार बरालविरुद्ध पनि उजुरी परेको हुँदा उनलाई पक्राउ गरेर सरकारी वकिलको कार्यालयमा पेश गरिएको थियो। “उहाँविरुद्ध उजुरी परेपछि पक्राउ गर्यौं, तर म्याद थप नभएकाले हाजिर जमानीमा रिहा गरेका हौं,” उनले अनलाइनखबरसँग भने, “यद्यपि, अनुसन्धान भने अझै चलिरहेको छ।”
यसअघि करिब १० करोड रुपैयाँ बराबरको चेक बाउन्स भएको प्रकरणमा मनोज भेटवाललाई प्रहरीले पाँच दिनअघि काठमाडौंबाट पक्राउ गरेको थियो। तर, पक्राउपश्चात स्वास्थ्य समस्या देखाउँदै उनी अस्पताल भर्ना भएका थिए। उनलाई हिरासतमा राख्न म्याद थप नगरिएपछि हाल उनी पनि छुटेका छन्।
प्रहरी अनुसन्धानका क्रममा भेटवालले बरालविरुद्ध पनि मिटरब्याजमा रकम दिएको आरोप लगाएका थिए। सोही उजुरीका आधारमा प्रहरीले बरालको खोजी सुरु गरेको थियो।
यस घटनामा भेटवालका सहयोगी नरेश कुमार चेङवाङ पनि पक्राउ परिसकेका छन्। उनलाई प्रहरी वृत्त जनसेवाको टोलीले पक्राउ गरेको हो। चेङवाङ जलेस्वर बीकोई बिल्डर्स प्रालिमा कार्यरत रहेका छन्।
मनोज भेटवाल यसअघि पनि पटक–पटक कानुनी विवादमा मुछिँदै आएका छन्। २०७७ साल फागुन २१ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई काठमाडौंको खुलामञ्चमा सार्वजनिक जग्गा अतिक्रमण गरी ४० वटा सटर निर्माण गरेको आरोपमा पक्राउ गरेको थियो।
त्यसअघि पनि उनले ठगी, बैंकिङ कसुर, हुन्डी कारोबार, विदेशी मुद्रा अपचलन तथा सरकारी जग्गाको दुरुपयोग जस्ता विषयमा आलोचना खेप्दै आएका थिए। विद्यासुन्दर शाक्य काठमाडौं महानगरका मेयर हुँदा उनले कयौं ठेक्का हात पारेका थिए।
प्रकाशित मिति: ३२ असार २०८२, बुधबार












प्रतिक्रिया