काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन उल्लंघन गरेको दुई उद्योग तथा फर्मलाई पाँच लाख पाँच हजार रुपैयाँ जरिवाना तिराएको छ।
मंगलबार गरिएको नियमित बजार अनुगमनका क्रममा उपभोक्ता ठग्ने खालका गतिविधिमा संलग्न पाइएका कारण बुटवल उपमहानगरपालिका–११ स्थित श्रीराम टोबाको उद्योग प्रालिलाई तीन लाख रुपैयाँ र ललितपुर महानगरपालिका–२ स्थित एसबीएल प्रोफेसनल प्रालिलाई दुई लाख पाँच हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।
अनुगमन टोलीले एमआरपी उल्लेख नगरी वस्तु बिक्री गरिएको, वस्तुमा रिलेबलिङ गरिएको, परिमाण, नापतौल तथा गुणस्तर हेरफेर गरिएकोजस्ता गतिविधि फेला पारेपछि ती फर्महरूलाई कारबाही गरिएको जनाएको छ।
यससँगै विभागले अन्य पाँच उद्योग तथा फर्मलाई तीन दिनभित्र सम्बन्धित व्यावसायिक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ भने दुई व्यवसायीलाई चेतावनीसहित सामान्य निर्देशन दिएको छ।
हाल विभागले बजार पारदर्शिता कायम राख्न र उपभोक्ताको हकहितको संरक्षण गर्न बजार अनुगमनलाई तीव्र बनाएको छ। विभागका अनुसार, उपभोक्ताले ठगिन नपाउनका लागि एमआरपीसहितको लेबल प्रणाली महत्वपूर्ण हुने भएकाले त्यसको निगरानी बढाइएको हो।
प्रकाशित मिति: ३२ असार २०८२, बुधबार













प्रतिक्रिया