काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कुनै पनि गल्ती गर्ने व्यक्ति जोगिने अवस्था नरहेको स्पष्ट पारेका छन्। बुधबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले सरकार दोषीको पक्षमा आँखा चिम्लिने मनस्थितिमा नरहेको बताए।

संघीय मामिला तथा सामान्य प्रशासनका निवर्तमान मन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणसम्बन्धी प्रश्नमा प्रतिक्रिया दिँदै मन्त्री गुरुङले गुप्ताले नैतिक जिम्मेवारीस्वरूप राजीनामा दिइसकेको र नयाँ मन्त्रीले पदभार सम्हालिसकेको जानकारी दिए।

advertisement

“सामान्य प्रशासनमन्त्रीमाथि प्रश्न उठेपछि उहाँले नैतिकताको आधारमा राजीनामा दिनुभयो। अहिले नयाँ मन्त्री नियुक्त भइसक्नुभएको छ,” मन्त्री गुरुङले भने, “अब अनुसन्धानको प्रक्रिया अघि बढ्नेछ र दोषी देखिए कानुनी कारबाही हुनेछ। सरकार तथ्य र प्रमाणको आधारमा अघि बढ्नेछ।”

उनले सरकार भ्रष्टाचारमुक्त शासनतर्फ प्रतिबद्ध रहेको उल्लेख गर्दै कानुनभन्दा माथि कोही नहुने धारणा राखे। “गल्ती जोले गरे पनि कानुनी दायरामा ल्याइनुपर्छ— चाहे त्यो मन्त्री होस्, सचिव होस् वा कुनै पनि जिम्मेवार पदमा बसेको व्यक्ति,” गुरुङले जोड दिए।

उनले थपे, “हामी सबै भ्रष्टाचारमुक्त नेपाल चाहन्छौं। त्यसका लागि जिम्मेवार ढंगले अगाडि बढ्नुपर्छ। कुनैपनि भ्रष्टाचारीलाई उन्मुक्ति दिन मिल्दैन।”

मन्त्री गुरुङको भनाइले हालैको अडियो प्रकरणपछि उठेका शंका र आलोचनालाई सम्बोधन गर्ने प्रयास देखिएको छ। सरकारले निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्ने जनविश्वास दिनुपर्ने आवश्यकता औंल्याइएको छ।

प्रकाशित मिति: ३२ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com