काठमाडाैं । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले आफ्नो एक वर्षे कार्यकाल उपलब्धिमूलक र सन्तोषजनक रहेको बताएका छन्। बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ठकुरीले प्रधानमन्त्री र पार्टीको सहयोगले सहज वातावरणमा काम गर्न पाएको उल्लेख गर्दै महत्वपूर्ण नीतिगत तथा कार्यान्वयनगत उपलब्धिहरू प्रस्तुत गरे।
उनले आफ्नो कार्यकालमा चारवटा रणनीति तयार गरी कार्यान्वयनमा ल्याइएको जानकारी दिए। त्यसअन्तर्गत वन क्षेत्रको संरक्षण र व्यवस्थापनमा उल्लेखनीय प्रगति भएको मन्त्री ठकुरीको दाबी छ।
“सन् २०२० मा कुल भूभागको ४५.३१ प्रतिशत वन क्षेत्र रहेकोमा हाल सरकारी र सामुदायिक संरक्षणमार्फत ४६.०८ प्रतिशतमा वृद्धि भएको छ,” उनले बताए।
मन्त्री ठकुरीका अनुसार गत आर्थिक वर्षमा ३ करोड क्युबिक फिट काठ उत्पादन भएको थियो भने चालू आर्थिक वर्षको जेठ मसान्तसम्म ३ करोड ३५ लाख क्युफिट काठ उत्पादन भइसकेको छ। काठ उत्पादनमा यसरी देखिएको वृद्धिले देशलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने मन्त्री ठकुरीको विश्वास छ।
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका विषयमा मन्त्रालयले प्रभावकारी ढंगले काम गरिरहेको जानकारी पनि उनले दिए। “द्वन्द्व न्यूनीकरणसँगै जनताको जिउधनको सुरक्षामा सहयोग पुगेको छ,” उनले बताए।
संघीयता कार्यान्वयनसँगै मन्त्रालयको बजेटमा पनि उल्लेखनीय वृद्धि भएको मन्त्री ठकुरीले उल्लेख गरे। “संघीय प्रणाली लागू भएपछि वन मन्त्रालयको बजेट १८.५ प्रतिशतले बढेको छ,” उनले भने।
कार्यकालको एक वर्ष समीक्षा गर्दै मन्त्री ठकुरीले आगामी दिनमा वातावरणीय सन्तुलन कायम गर्दै वनसम्पदाको दीगो उपयोग तथा संरक्षणमा मन्त्रालय अझ सक्रिय भएर लाग्ने प्रतिबद्धता पनि जनाए।
प्रकाशित मिति: ३२ असार २०८२, बुधबार












प्रतिक्रिया