काठमाडौं । अमेरिका र इजरायल समर्थित ‘गाजा ह्युमानिटेरियन फाउन्डेसन (जीएचएफ)’ले दक्षिणी गाजास्थित खान युनिसमा रहेको आफ्नो सहायता वितरण केन्द्रमा खाना लिन आएका बेला भएको भगदौडमा २० जनाको ज्यान गएको जनाएको छ।
जीएचएफद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “कुचिएर १९ जनाको मृत्यु भएको हो भने एक जनाको मृत्यु छुरा प्रहारका कारण भएको हो।” घटना जीएचएफको सहायता केन्द्रमा खाना वितरणका क्रममा भएको जनाइएको छ।
फाउन्डेसनले उक्त भगदौडका लागि ‘हमाससँग आबद्ध केही व्यक्तिहरूले भीडमा उत्तेजना फैलाएको’ दाबी गरेको छ। तर सो दाबीको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।
यसअघि खान युनिसको नासेर अस्पतालले निसास्सिएर मृत्यु भएका १० जनाको शव अस्पतालमा ल्याइएको पुष्टि गरेको थियो। प्रत्यक्षदर्शीहरूका अनुसार सहायता केन्द्रको सुरक्षामा खटिएका अमेरिकी निजी सुरक्षा गार्डहरूले केन्द्र बन्द गरेपछि मानिसहरू आत्तिएर भागाभाग भएको थियो।
जीएचएफले गएको मे महिनाको अन्त्यदेखि गाजामा सहायता वितरण कार्य सुरू गरेको थियो। त्यसयता सहायता प्राप्त गर्न गएका बेला थुप्रैपटक घटनाहरू भएका र केही प्यालेस्टिनीको ज्यान गइसकेको खबर सार्वजनिक हुँदै आएको छ।
केही प्रत्यक्षदर्शीले भने धेरैजसो पीडितहरू इजरायली सुरक्षाबलको गोली प्रहारबाट मारिएको दाबी गरेका छन्।
यसैबीच, संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले पछिल्ला ६ हप्तामा दक्षिणी र मध्य गाजामा जीएचएफका चार सहायता केन्द्र वरिपरि ६७४ जनाको मृत्यु भएको जनाएको छ।
प्रकाशित मिति: ३२ असार २०८२, बुधबार













प्रतिक्रिया