काठमाडौं । संघीय निजामती सेवा विधेयकअन्तर्गतको ‘कुलिङ पिरियड’ सम्बन्धी विवादको छानबिनका लागि बनेको विशेष समितिले प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग बयान लिएको छ।
नेपाली कांग्रेसका सांसद जीवन परियारको नेतृत्वमा गठित छानबिन समितिले बुधबार सिंहदरबारस्थित राज्य व्यवस्था समितिको कक्षमै झण्डै दुई घण्टा उनलाई सोधपुछ गरेको हो।
सोधपुछपछि पत्रकारहरूले ‘सांसद भएर कठघरामा उभिँदा कस्तो लाग्यो?’ भनी प्रश्न गरेपछि खतिवडाले यो सामान्य छलफल भएको प्रतिक्रिया दिए।
‘म आफैँ सांसद हुँ। सभापतिको नाताले छानबिन हुनु पर्ने माग उठेपछि समितिको प्रस्ताव मैलै नै अघि बढाएको हुँ,’ खतिवडाले भने, ‘यो कठघरा होइन, स्वस्थ संवाद हो।’
विवादको जड भने संघीय निजामती सेवा विधेयकको त्यो व्यवस्था हो, जसअनुसार अवकाशप्राप्त कर्मचारीले संवैधानिक पदमा नियुक्ति पाउन कम्तीमा दुई वर्ष पर्खिनुपर्ने प्रावधान गरिएको थियो। बोलिचालीमा यसलाई ‘कुलिङ पिरियड’ भनिन्छ।
तर, समितिबाट प्रस्तुत विधेयकको प्रतिवेदन संसद्बाट पारित हुँदा उक्त नयाँ व्यवस्था हटाई पुरानै (कुलिङ पिरियड नरहेको) प्रावधान कायम रहेको पाइएको थियो। यसपछि सांसदहरूले यसलाई नियोजित षड्यन्त्रको रूपमा व्याख्या गर्दै छानबिनको माग गरेका थिए।
सांसदहरूको मागपछि सभामुख देवराज घिमिरेले विशेष छानबिन समिति गठन गरेका हुन्। हाल उक्त समितिले अनुसन्धान अघि बढाइरहेको छ। प्रारम्भिक चरणमा समितिका सभापति खतिवडासँग बयान लिने कार्य सम्पन्न गरिएको हो।
छानबिन समितिका सदस्यहरूका अनुसार अन्य सम्बन्धित सांसद तथा कर्मचारीहरूसँग पनि क्रमशः सोधपुछ गरिनेछ।
प्रकाशित मिति: ३२ असार २०८२, बुधबार













प्रतिक्रिया