रुपन्देही ।  नाबालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा जिल्ला अदालत रुपन्देहीले एक पुरुषलाई आजीवन कारावासको सजाय सुनाएको छ ।
अदालतले मर्चवारी गाउँपालिका वडा नं. १ खुरखुरियाका अकबर अलि भनिने अहमद अलि दर्जीलाई  ८ वर्षीय बालिकालाई जबरजस्ती करणीपश्चात् हत्या गरेको अभियोगमा जीवित रहेसम्म कैद हुने फैसला सुनाएको हो।

जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको इजलासले दर्जीलाई आजीवन कैद हुने फैसला सुनाएको  अदालतका सूचना अधिकारी पदम अर्यालले जनाएका छन् । उनका अनुसार दर्जीले २०८० साल पुस १३ गते बालिकालाई जबरजस्ती करणी पश्चात् हत्या गरेर नालीमा फालेको अवस्था शव फेला परेको थियो।
विद्यालयबाट घर फर्किँदै गरेकी बालिकालाई बाटोमा एक्लै भेटेपछि दर्जीले बुवाले खेतमा पानी लगाउँदै गरेको बुवा भएको खेतमा पुर्‍याइदिन्छु भनेर फकाएर एकान्त स्थानमा लगेर जबरजस्ती करणी पश्चात् हत्या गरेका थिए।

advertisement

अदालतले गरेको फैसलामा पनि दर्जीले बालिकालाई फकाई फुलाई एकान्त स्थलमा लगेपछि मदिरा सेवन गरी जबरजस्ती करणी पश्चात् हत्या गरेर फालेको उल्लेख छ। बालिकालाई साइकलमा चढाएर लगेको देखेका प्रत्यक्षदर्शीले केरकार गर्दा पनि दर्जीले केही खुलाएका थिएनन्। घटना जानकारी भएपछि पक्राउ परेका दर्जीले प्रहरीको केरकारपछि भने बालिकाको हत्या गरेर स्वीकार गरी उनलाई फालेको स्थान समेत देखाएको प्रहरी अनुसन्धानमा उल्लेख छ।
फैसलामा पीडित बालिकाको परिवारलाई अपराध पीडित संरक्षण कोषबाट ७ लाख रुपैयाँ, प्रतिवादीबाट थप एक लाख ५० हजार क्षतिपूर्ति भराउन भनिएको छ।

सूचना अधिकारी अर्यालका अनुसार प्रतिवादी अकबर अलि भनिने अहमद अलि दर्जीलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) र (२) को कसुरमा यसैको दफा २१९ (३ क) बमोजिम जन्मकैद र दफा २१९ (३ क) को खण्ड (क) बमोजिम ७ लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाइएको हो। त्यसैगरी दफा १७७ (१) को कसुरमा दफा १७७ (२) बमोजिम अन्य कैदको सजाएँ हुने तथा प्रतिवादीले ८ वर्ष ३ महिनाकी बालिकालाई जबरजस्ती करणी पश्चात् हत्या गरेकाले मुलुकी अपराध संहिता २०७४ को दफा ४१ (च) को कसुरमा दफा ४१ बमोजिम दर्जीलाई जीवित रहेसम्म कैद हुने फैसला सुनाइएको हो।

प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com