काठमाडाैं । बंगलादेशको गोपालगन्जमा नेशनल सिटिजन पार्टी (एनसिपी) को र्यालीका क्रममा हिंसा भड्किँदा चार जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्।
बिगत वर्षको सफल विद्यार्थी आन्दोलनपछिको एक वर्ष पुगेको अवसरमा एनसिपीले जुलाई १ देखि देशका विभिन्न सहरहरूमा उत्सव र र्याली गर्दै आइरहेको छ। सोही क्रममा बुधबार गोपालगन्जमा आयोजना गरिएको र्यालीमा हिंसा भएको हो। गोपालगन्ज प्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला हो।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार, गोपालगन्जमा आयोजित कार्यक्रमलाई अल अवामी लिगका झन्डै २ सय समर्थकहरूले अवरोध पुर्याउन खोजेपछि अवस्था तनावपूर्ण बनेको थियो। उनीहरू घरेलु हतियारसहित कार्यक्रमस्थल नजिकै पुगेका थिए र मञ्च तथा कुर्सीहरू तोडफोड गरेका थिए।
स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। तर, दिउँसो २:४५ बजेपछि झडप चर्किँदै गएर अवस्था अनियन्त्रित बनेपछि प्रहरीले गोली प्रहार गरेको थियो।
गोली लागेर चार जनाको मृत्यु भएको पुष्टि भएको छ। मृतकहरूमा दिप्तो साह, रमजन काजी, सोहेल र इमोन रहेका छन्, जो सबै गोपालगन्जकै निवासी हुन्। गोपालगन्ज अस्पतालका सुपरिटेन्डेन्ट जिबितेश विश्वासले दिप्तो र रमजनलाई गोली लागेर मृत अवस्थामा अस्पताल ल्याइएको जानकारी दिएका छन्। अन्य आठ घाइतेको उपचार भइरहेको छ।
एनसिपी नेता नहिद इस्लामले आफूहरूलाई योजनाबद्ध रूपमा आक्रमण गरिएको आरोप लगाएका छन्। ‘र्याली सकिएपछि मदारीपुर जाँदै गर्दा हामीमाथि हमला भयो,’ उनले पत्रकार सम्मेलनमा भने।
स्थिति थप बिग्रिन नदिन सुरक्षाकर्मी परिचालन गरिएको छ भने गोपालगन्जमा कर्फ्यु आदेश जारी गरिएको छ। कर्फ्यु आज बेलुकी ६ बजेसम्म लागु रहने डेली स्टारले जनाएको छ।
प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया