काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा ‘श्रम र उत्पादनमा वाइसिएल अभियान’ को औपचारिक उद्घाटन गरेका छन्।
उद्घाटन समारोहमा अध्यक्ष प्रचण्ड स्वयं युवा स्वयंसेवकहरूसँग इँटा लगाउने, घाँस काट्ने, चौर सफा गर्ने तथा वृक्षारोपण जस्ता कार्यमा श्रम सहभागिता जनाउँदै अभियानको सुरुआत गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले वाइसिएल नेपालद्वारा सुरु गरिएको श्रम अभियान माओवादी केन्द्रले अघि सारेको “उत्पादन ब्रिगेड” को निरन्तरता भएको बताउँदै राष्ट्रिय अर्थतन्त्र निर्माणमा पार्टी र वाइसिएलको अग्रणी भूमिकाको आवश्यकता औंल्याए। उनले भने, “देशैभरि यस्ता कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ। यो अभियान माओवादी आन्दोलनको वैचारिक र व्यवहारिक गहिराइसँग जोडिएको विषय हो।”
प्रचण्डले युवालाई भ्रष्टाचारविरुद्ध सशक्त ढंगले उभिन आह्वान गर्दै चेतावनी पनि दिए। “यदि सरकार यसरी नै भ्रष्टाचारमा लिप्त रहिरह्यो भने, हामी बाध्य भएर छिट्टै सडकबाटै आन्दोलन गरेर हटाउनु पर्ने हुन्छ,” उनले भने।
वाइसिएल नेपालले देशभर ५५ स्थानमा समानान्तर रूपमा अभियान सुरु गरेको जानकारी दिइएको छ। कार्यक्रममा माओवादी केन्द्रका नेता, कार्यकर्ता र युवा स्वयंसेवकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। अध्यक्ष प्रचण्डले युवालाई उत्पादन, समृद्धि र स्वाभिमानी अर्थतन्त्र निर्माणको अग्रपंक्तिमा उभिन समेत आग्रह गरे।

प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार












प्रतिक्रिया