काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको पक्षमा सञ्चालन गरिएको हस्ताक्षर अभियानमार्फत हालसम्म करिब २५ लाख हस्ताक्षर संकलन भइसकेको जनाएको छ।
बिहीबार पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक दीपक बोहराले अभियानको प्रगतिसहित खर्च विवरण सार्वजनिक गरेका हुन्। उनका अनुसार असार ७ गतेदेखि सुरु भएको अभियानमा देश तथा विदेशका विभिन्न स्थानबाट हस्ताक्षर प्राप्त भइरहेकाले संख्यामा अझै वृद्धि हुने अनुमान गरिएको छ।
बोहराले साउन ५ गतेदेखि वडा स्तरमा घरदैलो अभियान सञ्चालन गरी हस्ताक्षर संकलनलाई थप तीव्र बनाउने जानकारी दिए। “अहिलेसम्म सातवटै प्रदेश र दुई अन्य केन्द्रबाट गरी २४ लाख ५७ हजार ६१८ हस्ताक्षर संकलन भएको छ,” उनले भने, “सभापतिको अपिलको पाँच लाख प्रतिलिपि र हस्ताक्षर फारम दुई लाख वितरण भइसकेका छन्।”
बोहराका अनुसार अहिलेसम्म हस्ताक्षर अभियानमा झन्डै ५९ लाख ६८ हजार रुपैयाँ खर्च भइसकेको छ।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेविरुद्धको मुद्दालाई राजनीतिक प्रतिशोधको परिणाम भन्दै रास्वपाले जनसमर्थन जुटाउने उद्देश्यसहित देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गरेको हो।
पार्टीले आगामी दिनमा अभियानलाई अझ व्यापक बनाउँदै जनस्तरमा लामिछानेको पक्षमा सशक्त समर्थन जुटाउने रणनीति अघि बढाएको जनाएको छ।
प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया