काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू सधैँ पदमा रहने व्यक्ति नभएको र ‘सधैँभरि’ भन्ने शब्द कुनै पनि जीवित वस्तुका लागि लागू नहुने बताएका छन्।
वरिष्ठ पत्रकार विजय कुमार पाण्डेसँगको अन्तरवार्तामा बोल्दै ओलीले आफूले कहिल्यै पनि “सधैँ प्रधानमन्त्री वा अध्यक्ष भइरहन्छु” भनेर भनेको नहुने स्पष्ट पारे।
पाण्डेले हल्का ठट्टात्मक शैलीमा “तपाईंले २० वर्ष अध्यक्ष हुन्छु भन्नुभयो, मान्छेहरूले विश्वास गरिहाल्छन् नि” भनी सोध्दा ओलीले मुस्कुराउँदै त्यो अभिव्यक्ति आफूले सरकार परिवर्तनको चर्चा गर्नेहरूलाई दिएको जवाफ भएको बताए।
“मैले उनीहरूलाई सरकार फेरिन्छ भन्नेलाई हल्का जवाफ दिएको त,” ओलीले भने, “पर्ख न एक वर्ष, म प्रधानमन्त्रीबाट छोडिदिन्छु, शेरबहादुरजी हुनुहुन्छ।”
उनले थपे, “जीवित चिजका लागि त झन् सधैँभरि भन्ने कुरा हुँदैन। निर्जीव चिज, ढुङ्गा, माटो लामो समय कायम रहलान्, तर जीवित चिज त कायम रहँदैन।”
नेतृत्व हस्तान्तरणका सन्दर्भमा ओलीले त्यसलाई एक स्वाभाविक प्रक्रिया भएको बताए। उनका अनुसार, पार्टीको आवश्यकता, परिस्थितिको माग र नेतृत्वको कार्यक्षमता अनुसार नेतृत्व परिवर्तन हुनु स्वाभाविक हो।
“मेरो काम गर्ने सामर्थ्य छैन, क्षमता छैन भने मैले नछोडेर हुन्छ?” भन्दै ओलीले परिस्थिति अनुसार पद त्याग गर्न तयार रहेको जनाए।
उनले आफूभन्दा राम्रो काम गर्न सक्ने नेतृत्व अगाडि आएमा त्यस्ता व्यक्तिलाई स्थान दिनु उचित हुने बताए।
अध्यक्ष पद छाडेपछि दोस्रो स्थानमा रहने आकांक्षा आफूमा नरहेको पनि उनले स्पष्ट गरे। “म पहिलो मर्यादा छोड्दै छोड्दिनँ,” ओलीले भने, “छाड्न परे के छ त भने नजिकै आएर दोस्रो सिटमा बसेर र्याइँ–र्याइँ गरेर होइन, घर गएर बस्नुपर्छ।”
प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार












प्रतिक्रिया