काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नेपाली राजनीतिमा आफैले चिनाएको दाबी गरेका छन्।

वरिष्ठ पत्रकार विजयकुमार पाण्डेसँगको अन्तर्वार्तामा ओलीले लामिछानेविरुद्ध भइरहेको कानुनी प्रक्रिया र त्यसमा देखिएको प्रतिक्रिया ‘स्टन्टबाजी’ मात्र भएको टिप्पणी गरे। उनले रवि लामिछानेको मुद्दालाई लिएर आफू र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेर फसाउन खोजेको भनाइलाई पूर्णतः गलत भन्दै खण्डन गरे।

advertisement

“रविलाई त नेपालमा चिनाएको मैले हो। मैले टेलिभिजन कार्यक्रममार्फत चिनाएको हुँ,” ओलीले भने, “सरकार बन्दाखेरि उनलाई उपप्रधानमन्त्री र गृहमन्त्री बनाउनुपर्छ भनेर लडेको मान्छे म हुँ।”

रवि लामिछाने पक्राउ पर्नु वा नपर्नुबाट आफूलाई कुनै व्यक्तिगत फाइदा वा क्षति नहुने दाबी गर्दै उनले प्रतिप्रश्न गरे, “रविलाई छोड्दा मलाई कति घाटा हुन्छ ? मेरो कुनै उद्योग बन्द हुन्छ ? के हुन्छ ?”

लामिछानेले पक्राउ पर्नुअघि तयार पारेको भिडियो सन्देशप्रति टिप्पणी गर्दै ओलीले त्यसलाई ‘स्टन्टबाजी’ भने। “त्यो किन गरेको थियो भन्दा स्टन्टबाजी थियो एउटा। यसो गरेपछि समाउन सक्दैन, यसो गरेर एउटा वातावरण क्रिएट गर्न सकिन्छ भनेर,” उनले भने ।

प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com