काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँग हाल कुनै प्रकारको पार्टी एकताको सम्भावना नरहेको स्पष्ट पारेका छन्।
शुक्रबार पार्टीमा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमको औपचारिक प्रवेशका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमालेसँगको एकताबारे कतिपय भ्रम फैलाउने प्रयास भइरहे पनि त्यसमा कुनै पनि आधार नभएको बताए।
“अहिलेको अवस्थामा एमालेसँग पार्टी एकताको कुनै सम्भावना देख्दिन,” उनले भने, “यदि कसैलाई अझै पनि एमालेसँगको मिलनप्रति आशा छ भने त्यसबारे म केही भन्न चाहन्न।”
नेपालले एमाले नेताहरूबाट आएका अभिव्यक्तिहरू आफू र आफ्नो पार्टीविरुद्ध हुने गरेको उल्लेख गर्दै त्यस्तो प्रवृत्तिले एकताको सम्भावनालाई नै असम्भव बनाएको दाबी गरे। “उनीहरू कसरी यो पार्टीलाई सक्काउने भन्ने कुरासहित अभिव्यक्तिहरू दिइरहेका छन्। त्यसैले एकताको कुरा अहिलेको सन्दर्भमा अर्थहीन छ,” उनले स्पष्ट पारे।
अध्यक्ष नेपालले वामदेव गौतमसँगको एकतालाई ऐतिहासिक कदमका रूपमा उल्लेख गर्दै यसले पार्टीलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे। “आजको घटनाले हाम्रो पार्टीलाई अझ सुदृढ बनाउनेछ। नयाँ ऊर्जा थपिनेछ,” उनले भने।
उनले सिद्धान्त र विचार मिल्ने समूहहरूसँग भविष्यमा सहकार्यको सम्भावना खुला राखे पनि त्यसअघि आफ्नै पार्टीलाई एकताबद्ध र बलियो बनाउने प्राथमिकता रहेको बताए। “पहिलो काम भनेको आफ्नो पार्टीलाई बलियो बनाउने हो। त्यसपछि मात्रै अन्य एकता सार्थक हुन्छ,” अध्यक्ष नेपालको भनाइ थियो।
उनले नेता तथा कार्यकर्तालाई निराश नहुन आग्रह गर्दै राष्ट्र र जनताको पक्षमा स्पष्ट दृष्टिकोणसहित अघि बढ्न प्रेरित गरे। साथै, चैत १५ गते आयोजित जनसभाको उदाहरण दिँदै उनले पार्टीले पूर्वराजतन्त्रको भ्रम चिर्दै जनमत निर्माण गर्न सफल भएको स्मरण गरे।
“त्यो सभाले सन्देश दिएको थियो कि प्रजातान्त्रिक मूल्य र सिद्धान्तप्रति जनताको भरोसा कायमै छ,” उनले भने, “अब हामीलाई अझ सुदृढ भएर अघि बढ्न आवश्यक छ। वामदेव कमरेडको सहभागिताले हामीलाई थप ऊर्जा दिनेछ।”
प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया