काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन समितिले पार्टीको नीति, सिद्धान्त र हितविपरीत कुनै पनि लिखित वा मौखिक अभिव्यक्ति नदिन तथा यस्ता गतिविधिमा संलग्न नहुन नेताहरूलाई चेतावनी दिएको छ। शुक्रबार बसेको समितिको बैठकले पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई अनुशासन र एकता कायम राख्न सचेत गराउने निर्णय गरेको हो।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समितिको नेतृत्वमा परिवर्तन गर्दै नवराज सुबेदीलाई हटाएर रोशन कार्कीलाई अध्यक्षमा नियुक्त गरेपछि पहिलोपटक कार्कीको अध्यक्षतामा समिति बसेको हो। बैठकमा समितिका सदस्यहरू प्रदीप उदय, भक्तिप्रसाद सिटौला र राजु बस्नेतको पनि उपस्थिति थियो। बैठकले कार्कीलाई अध्यक्ष बनाइएकोमा पार्टी अध्यक्ष लिङ्देनप्रति धन्यवादसमेत प्रकट गरेको छ।
पार्टीभित्र बढ्दो असन्तोषबीच हिजो मात्रै राप्रपाका चारजना पदाधिकारीले नेतृत्वविरुद्ध विज्ञप्ति जारी गरेका थिए। यसअघि संस्थापनइतर समूहले नवराज सुबेदीलाई अनुशासन समितिबाट हटाइएको विरोधमा निर्वाचन आयोगमा उजुरी दिएको थियो।
यसैबीच, अध्यक्ष लिङ्देनले आज पार्टीका उपाध्यक्ष एवं केन्द्रीय सदस्य मुकुन्दश्याम घिमिरेलाई बर्खास्त गरेका छन्। पार्टी स्रोतका अनुसार अन्य केही नेताहरूविरुद्ध पनि कारबाही प्रक्रिया अघि बढ्न सक्ने संकेत देखिएको छ।
भित्रभित्रै बढ्दो गुटबन्दी र असन्तोषबीच राप्रपाले अनुशासन कडाइका साथ लागू गर्ने चेतावनी दिएको छ। पार्टीले नेतृत्वविरुद्धको सार्वजनिक आलोचना र असहमतिको स्वरलाई दबाउने प्रयासस्वरूप अनुशासनलाई प्राथमिकता दिएको विश्लेषण गरिएको छ।
प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया