काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले नेपालको यातायात सुरक्षा प्रभावकारी बनाउन सबै प्रकारका यातायात सेवाको नियमन एउटै सरकारी निकायमार्फत गर्नुपर्ने धारणा व्यक्त गरेकी छन्।

शुक्रबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा छलफलरत “नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी विधेयक” विषयक बैठकमा बोल्दै सांसद गौतमले हवाई, स्थल र अन्य सबै यातायात प्रणालीलाई एउटै मन्त्रालयअन्तर्गत समेटेर एकीकृत ढंगले नियमन गर्नुपर्ने सुझाव दिइन्।

advertisement

“यातायातको क्षेत्र आज धेरै विस्तारित भइसकेको छ। सबै प्रकारका यातायात साधनहरूलाई एउटै थलोबाट नियमन गर्दा समग्र सुरक्षालाई प्रभावकारी बनाउन सकिन्छ,” उनले भनिन्, “एकीकृत नीति, योजना र निगरानीको अभावले अहिले व्यवस्थापनमा कमजोरी देखिएको छ।”

गौतमले नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक दुवैको भूमिका दिँदा नियमन पक्ष कमजोर हुने जोखिम रहेको भन्दै स्पष्ट विभाजनको माग गरिन्। “सेवा दिने निकायले मुनाफा कमाउन सक्छ, तर नियामक निकायसँग पर्याप्त स्रोत, संरचना र अधिकार नहुँदा निगरानी कमजोर हुन सक्छ,” उनले भनिन्, “त्यसैले यो विधेयकले नियामक संयन्त्रको सुदृढीकरणमा विशेष ध्यान दिनुपर्छ।”

गौतमले अहिले पनि नेपालमा सडक दुर्घटनाको संख्या अत्यन्तै भयावह रहेको उल्लेख गर्दै हवाई यातायातलाई तुलनात्मक रूपमा सुरक्षित मानिए पनि त्यसको गुणस्तर सुधार र जनविश्वास कायम राख्न सशक्त नियमन अपरिहार्य भएको धारणा राखिन्।

समितिको बैठकमा सहभागी अन्य सांसदहरूले पनि नागरिक उड्डयन क्षेत्रको सुधारका लागि प्रस्तावित विधेयक अत्यन्तै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै यसलाई गम्भीरता र सुझबुझका साथ अघि बढाउनुपर्ने सुझाव दिएका थिए।

विधेयकले हवाई सुरक्षाका साथै सेवा उपलब्धताको गुणस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ। सांसदहरूको जोड नागरिक उड्डयन नियमनलाई स्पष्ट, प्रभावकारी र पारदर्शी बनाउनेतर्फ थियो।

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com