काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानमा उल्लेख गरिएका अधिकारहरू जनताको बलिदानबाट प्राप्त भएकाले कसैले खोस्न नसक्ने स्पष्ट पारेका छन्।
शुक्रबार काठमाडौंमा आयोजित लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले संविधान संशोधन अहिलेको आवश्यक विषय भएको बताएका हुन्।
थापाले संविधान संशोधनका सन्दर्भमा कांग्रेसको धारणा स्पष्ट हुनुपर्ने उल्लेख गर्दै भने, “कांग्रेसको पोजिसन संविधानलाई थप सुदृढ बनाउनेतर्फ मात्र हो। अधिकारमा सम्झौता गर्ने कुरा कांग्रेसको नीति होइन।”
महामन्त्री थापाका अनुसार संशोधनका लागि पार्टीभित्र कार्यदल बनाइनेछ र त्यसले तयार पार्ने सुझावका आधारमा एमालेसँगको सहमतिअनुसार संयुक्त कार्यदल गठन गरिनेछ। त्यसपछि माओवादी केन्द्रसहित अन्य दलहरूसँग संवाद गरेर संशोधन प्रक्रिया अघि बढाइने जानकारी उनले दिए।
उनले आदिवासी जनजातिहरूले संघर्षबाट प्राप्त गरेको अधिकार र उपलब्धिहरूमाथि अहिले चुनौती आउन थालेको भन्दै कांग्रेसले आफ्नो भूमिका गम्भीरताका साथ निर्वाह गर्नुपर्ने धारणा राखे।
“कांग्रेस एकपल्ट पनि चुक्यो भने यो अधिकार गुम्ने खतरा छ,” उनले भने, “हामी यहाँ उत्साह या उत्तेजनामा होइन, अनुभवका आधारमा आएका हौं।”
संघीयता कार्यान्वयनप्रति असन्तुष्टि जनाउँदै थापाले संघीयता यथास्थितिमा चल्न नसक्ने बताए। संघ सरकारले प्रदेशलाई अधिकार दिन हिच्किचाएको आरोप लगाउँदै उनले संघमा आठ मन्त्रालय भए पर्याप्त हुने बताए।
थापाले प्रदेश संरचना संघको प्रतिकृति मात्रै बनेको टिप्पणी गर्दै त्यसले संघीयता कमजोर बनाएको बताए। “संघीयताको नाममा प्रदेशहरूलाई अधिकार नदिई यसरी प्रणाली चल्दैन,” उनले भने।
उनले सबै राजनीतिक दलहरूलाई गम्भीर छलफलका साथ संविधान कार्यान्वयन र सुधारमा जुट्न आह्वान गरे।
प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया