काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षाको अवस्था सन्तोषजनक रहेको दाबी गरेका छन्। शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले पछिल्लो एक वर्षको तुलनामा देशको सुरक्षा स्थिति थप अनुकूल बन्दै गएको बताएका हुन्।
मन्त्री लेखकले संघीय लोकतान्त्रिक प्रणालीलाई कमजोर पार्ने कुनै परिस्थिति नरहेको उल्लेख गर्दै संविधानको संरक्षण र कार्यान्वयनमा सरकार पूर्ण रूपले प्रतिबद्ध रहेको स्पष्ट पारे।
उनका अनुसार अपराध नियन्त्रणमा सुरक्षा निकायले गम्भीर र प्रभावकारी ढंगले काम गरिरहेका छन्। पुराना आपराधिक घटनाहरू समेत अब अनुसन्धानको दायरामा ल्याएर कारबाही अघि बढाइएको उनले बताए।
आर्थिक अपराधका बढ्दो चुनौतीलाई सम्बोधन गर्न केन्द्रीय अनुसन्धान ब्युरो (CIB) भित्रै छुट्टै इकाई स्थापना गरिएको जानकारी मन्त्री लेखकले दिए।
मुलुकमा शान्ति सुरक्षा सुदृढ बनाउन आवश्यक स्रोत, साधन तथा प्रविधि उपलब्ध गराएर सुरक्षा निकायलाई अझ प्रभावकारी र व्यवसायिक बनाउने दिशामा सरकार प्रतिबद्ध रहेको उनले दोहोर्याए।
प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया