काठमाडाैं । नेपालका लागि इजरायलका राजदूत श्मुलिक आरि बासले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसँग भेट गरेका छन्। भेटमा इजरायलमा नेपाली कृषि विद्यार्थीको ‘इन्टर्नसिप’ कार्यक्रम पुनः सञ्चालन गर्ने विषयमा छलफल भएको जनाइएको छ।
त्यस अवसरमा मन्त्री पन्तले इजरायलले विगतदेखि वर्तमानसम्म नेपालप्रति विभिन्न चरणमा गरेको सहयोगको प्रशंसा गरे। राजदूत बासले सन् २००१ देखि सञ्चालनमा रहेको परियोजनाबारे जानकारी गराएका थिए।
उक्त कार्यक्रममार्फत हालसम्म चार हजारभन्दा बढी नेपाली कृषि विद्यार्थी इजरायलमा गई कृषिसम्बन्धी अनुभव हासिल गर्न सफल छन् भने केहीले इजरायलबाट फर्केपछि नेपालको कृषि क्षेत्रमा उल्लेखनीय योगदान पनि गरेका छन्।
सन् २०२३ अक्टोबर ७ मा भएको हमासको आक्रमणपछि नेपाली विद्यार्थीलाई इजरायल जान रोक लगाइएको छ। यदि यो प्रक्रियागत ढिलाइ यथावत् रह्यो भने नेपालको कृषिलाई अगाडि बढाउन सक्ने लगभग एक हजार कृषि इन्टर्नले अवसर गुमाउने राजदूत बासको भनाइ थियो।
उनले शिक्षा मन्त्रालयसँग विश्वविद्यालयमा विद्यार्थीलाई समयमै दर्ता गर्ने र इजरायल जान दिनका लागि निर्देशन गरी सहयोग गर्न आग्रह गरे।
यस सन्दर्भमा शिक्षा मन्त्रालयले इन्टर्नसिपमा जाने विद्यार्थीको इजरायल फिर्तीमा कुनै अवरोध नरहेको स्पष्ट गरेको छ। शिक्षा मन्त्रालयले अभाव पूर्ति गर्न आगामी वर्षमा कोटा बढाउने प्रस्ताव पनि गरेको छ। इजरायली परराष्ट्र मन्त्रालयबाट प्राप्त जवाफ र इजरायलका लागि नेपाली राजदूतबाट सुरक्षा अवस्थाबारे दुई सकारात्मक प्रतिवेदनअनुसार परराष्ट्र मन्त्रालयले इजरायलको सुरक्षा अवस्था सामान्य भइसकेकाले इजरायल जाने प्रक्रिया पूर्ववत् प्रक्रियाअनुसार निरन्तरता दिन पनि एक सूचना जारी गरिसकेको छ।
विद्यार्थी दर्ता प्रक्रिया द्रुत रूपमा अघि बढाउन, यसबारे विद्यार्थीलाई जानकारी दिन र विश्वविद्यालयसँग समन्वय गर्न सबै सम्बन्धित निकायलाई आग्रह पनि गरिएको छ। त्यस अवसरमा शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटा तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधि पनि सहभागी थिए। रासस
प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार












प्रतिक्रिया